रामेछाप,१० वैशाख । रामेछापको सदरमुकाम मन्थलीमा खानेपानीको चरम अभाव भएको छ । विगत ४ दिनदेखि मन्थलीमा खानेपानी आपुर्ति गर्दै आएको मन्थली खानेपानी उपभोक्ता समितिले खोनपानीको आपुर्ति गर्न नसक्दा पानीको अभाव भएको हो ।
मन्थलीलाई तामाकोसी नदी किनारमा इनार खनि त्यहाँको पानी मोटरबाट तानेर डाँडामा जम्मा गरी खानेपानी वितरण गर्ने गरिएको छ । पानी तान्ने मेशिन विग्रिएको कारण ४ दिनदेखि मन्थलीमा पानी वितरण हुन सकेको छैन ।
यस अघि पनि मेशिनमा समस्या आएको भन्दै मर्मत गरिए पनि पुन मोटरमा समस्या भएको उपभोक्ता समितिले जनाएको छ । पानीको चरम अभाव भएपछि सदरमुकाम भित्रका विद्यालय, होटल, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरुलाई मात्र हैन निजि आवासमा वस्ने सर्वसाधारणलाई समेत समस्यामा परेको छ । खानेपानीको विकल्प सदरमुकाम मन्थली आसपासमा कुनै स्रोत नभएपछि मन्थलीका स्थानीयहरु मारमा परेका छन् ।
अहिले स्थानीयहरु रणजोर खोला र तामाकोसी नदी किनारमा रहेका जरुवाहरुमा पानी लिन जाने गरेका छन् । खोला र नदी किनारका जरुवाहरुमा बिहान ४ बजेदेखि राति १० बजेसम्म मानिसहरुको भिड लाग्ने गर्दछ । यस्ता जरुवाहरुको व्यवस्थापनमा सरोकारवालाहरुको ध्यान नजाँदा पानी भर्ने मानिसहरु लामोसमयसम्म लाइन लाग्नु पर्ने वाध्यता छ । साथै एक पटक सयौँ मानिसहरु पानी भर्न जाँदा ती जरुवा र आसपासको क्षेत्र अत्यन्त फोहोर बनेको छ ।
मन्थली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र वियोगीले सकेसम्म चाँडो नयाँ मोटर राखेर खानेपानी सेवा सुचारु गर्ने तयारी भई रहेको बताए । उनका अनुसार केहिदिन अघि परेको चट्याङका कारण पानी तान्ने ४ वटा मोटर , सोलार प्यानल, ट्रान्सफर्मर र तारमा समस्या आएको छ । पानी तान्ने मोटर सहित आवश्यक सामाग्री लिन काठमाडौ पठाइ सकिएकाले सोमबारसम्म पानी बितरण गर्ने तयारी भैरहेको अध्यक्ष वियोगीको भनाई छ ।
अध्यक्ष वियोगीले मन्थलीका स्थानीयहरुलाई पानीको समस्या भएकाले ट्याङकीमा जम्मा भएको केहि पानी मन्थलीको देवकोटा चोक जिल्ला समन्वय समिति अगाडि र तामाकोसी सहकारी अस्पताल मुनी वैकल्पीक धारा मार्फत बितरण गर्ने तयारी भएको बताए @www.tamakosionline.com

