काठमाडौं,९ वैशाख । माओवादी केन्द्रीय कार्यालयको बिस्तारित बैठकले पार्टी एकताका लागि अग्रिम मिति तोक्नु उपयुक्त नहुने निष्कर्ष निकालेको छ । एकताका लागि अझै एक-दुई महिना लाग्नसक्ने बैठकको निष्कर्ष छ ।
बैठकपछि प्रवक्ता पम्फा भुसालले भनिन्, ‘ठ्याक्कै तिथि तोक्न सकिन्न । अलिकति टाइम लेला, तर एकता अनिवार्य छ ।
बैठकमा अध्यक्ष प्रचण्डले एमाले नेताहरुसँग एकताको विषयमा भइरहेको छलफलको प्रगतिबारे जानकारी गराएका थिए । सैद्धान्तिक, राजनीतिक र सांगठनिक विषयमा विषयमा सहमति र समझदारी कायम गर्ने कुरामा सकारात्मक ढंगले कुराकानी अगाडि बढेको प्रचण्डले बैठकमा व्रिफिङ गरेका थिए ।
प्रचण्डको भनाइ उद्धृत गर्दै प्रवक्ता भुसालले भनिन्, ‘दुवै पार्टीका नेता, कार्यकर्ता र नेपाली जनताले अनुमोदन गरेको अहिलेको राष्ट्रको आवश्यकतामा पार्टीको एकता सम्पन्न गर्ने कुरा सुनिश्चित छ । त्यो पार्टी एकता सिद्धान्तनिष्ठ, समानता, सम्मानजनक र न्यायोचित आधारमा हुनेछ ।
बैठकमा केन्द्रीय नेताहरुले आफ्ना सुझाव राखेका थिए । प्रायः सबै नेताहरुले पार्टी एकता आवश्यक भएको बताएका थिए । जवाफमा प्रचण्डले नेताहरुको व्यवस्थापन नभएर एकता रोकिएको भन्ने कुरा सही नभएको बताएका थिए ।

