शनिबार, बैशाख ०८, २०८१

६ वटा विभाग खारेज गर्ने मन्त्रीपरिषद्को निर्णय

काठमाडौं,६ वैशाख । सरकारले विगतका संरचना अनुसार संघमा रहेका विभिन्न मन्त्रालय अन्तर्गतका ४० विभागमध्ये ६ वटा विभाग खारेज गरेको छ । मन्त्रिपरिषद् मंगलबारको बैठकले १२ वटा मन्त्रालय मातहातका ४० विभागलाई घटाएर ३४ कायम गर्ने निर्णय गरेको हो ।

विभागको खारेजीसँगै ती विभागमा रहेका कर्मचारी समेत कटौतीमा परेका छन् । मन्त्रिपरिषद्‌ विभागको खारेजीसँगै २६ दशमलव ७६ प्रतिशत अर्थात् ९ सय ४६ कर्मचारीको दरबन्दी समेत कटौती गरेको छ । मन्त्रिपरिषद्‌ ३५ सय २९ कर्मचारी रहेका यी विभागबाट कर्मचारी घटाउँदै २५ सय ९२ मा झारेको छ ।

संघीयता कार्यान्वयनका क्रममा अन्य २१ वटा विभागको विषयमा भने अझै निर्णय भइसकेको छैन । अन्य विभागका संरचनाका विषयमा छलफल चलिरहेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री कार्यालयले नेपाला लाइभलाई दिएको जानकारी अनुसार मन्त्रालय गाभिएसँगै विगतमा ठूला संरचनामा रहेका विभागलाई अन्य विभागमा लगेर गाभिएको हो ।

खरेज भएका विभागमा घरेलु तथा साना उद्योग, भूसंरक्षण, यान्त्रिक तालिम, जल उत्पन्न प्रकोप नियन्त्रण, वाणिज्य, भू–तथा अभिलेख विभाग रहेका छन् ।

मन्त्रिपरिषद्‌ले घरेलु तथा साना उद्योगलाई उद्योग विभागको एउटा सानो शाखाका रुपमा राखेको छ । यस्तै भू–संरक्षण विभागलाई वन विभागमा लगेर गाभेको छ । वनमा गाभिएसँगै उक्त विभागको नाम वन तथा भूसंरक्षण विभाग भनेर नयाँ नाम दिइएको छ ।

विभागकै संरचनामा रहेको यान्त्रिक तालिम केन्द्रलाई हटाएर सडक विभागकै एउटा शाखाका रुपमा राखिएको छ । यसैगरी, जल उत्पन्न प्रकोप नियन्त्रणलाई सिँचाइ विभागमा गाभेर जलस्रोत तथा सिँचाइ विभाग नामाकरण गरिएको छ ।