शुक्रबार, चैत १६, २०८०

ईयूको निर्वाचन पर्यवेक्षण मिसनको सुझाव सकारात्मक : यादव

रौतहट,९ चैत । संघीय समाजवादी फोरमका अध्यक्ष तथा पूर्वपरराष्ट्रमन्त्री उपेन्द्र यादवले यूरोपियन यूनियनको निर्वाचन पर्यवेक्षण मिसनको सुझावलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् । ईयूको सुझावलाई लिएर परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अपरिपक्वताको नमुना भएको उनले दावी गरे ।

शुक्रबार रौतहटको गौरमा सञ्चारकर्मीसँग कुरा गर्दै संघीय समाजवादी फोरमका अध्यक्ष यादवले यूरोपियन यूनियनले भनेको कुरा सुझावका रुपमा लिएर अगाडि बढनुपर्ने धारणा राखे ।

‘यसलाई सकारात्मक सुझावका रुपमा लिनुपर्छ । यसलाई हस्तक्षेप भन्न हुदैन’ यादवले भने ‘आफ्नो स्वार्थमा भए वाह वाह गर्ने र विभेदमा परेका समुदायका बारेमा बोल्दा हस्तक्षेप हुने परिभाषा राम्रो होइन ।’
ईयूको निर्वाचन पर्यववेक्षण मिसनको प्रतिवेदनका विषयमा परराष्ट्र मन्त्रालयले हतासमा विज्ञप्ति निकाल्नु गलत भएको पनि यादवले बताए । ईयूको निर्वाचन पर्यवेक्षण मिसनले नेपालमा खसरआर्य समुदायलाई दिएको आरक्षण खारेज गर्न सुझाव दिएको थियो । ईयूको उक्त सुझावको पक्ष र विपक्षमा मत सार्वजनिक भइरहेका छन् ।

अध्यक्ष यादवले आफूहरु सरकारमा सामेल नभए पनि समर्थन दिइसकेको बताएका छन ।