चितवन,५ चैत । इमो, भाइबर र फेसबुकमार्फत चिठ्ठा परेको छ, उपहार आएको छ, विदेशीले उपहार पठाइदिएको भन्दै प्रलोभन देखाउने र लाखौं रुपैयाँ गठी गर्ने ९ जना ठगलाई प्रहरीले कास्कीमा सार्वजनिक गरेको छ ।
उनीहरुले कास्की लगायत विभिन्न जिल्लामा सामाजिक सञ्चालनको प्रयोगबाट २५ लाख रुपैयाँको चिठा परेको छ, तपाईंको परिवारलाई सुन तथा नगद पठाएको छु भन्दै झन्डै १ करोड ३० लाख रुपैयाँको ठगेको प्रहरीको भनाइ छ ।
विदेशी नागरिकले पैसा पठाइदिएको छ र आफू थुनामा परेको भन्दै ठगी गर्ने पाल्पा, निस्दी-७ ज्यामिरेका २६ वषर्ीय यामबहादुर रानामगर प्रहरीले प्रक्राउ गरेको छ ।
यस्तै सामाजिक सञ्जालबाट २५ लाख रुपैयाँ चिठ्ठा परेको छ भन्दै ८० जनाभन्दा बढी व्यक्तिहरुलाई ठगी गर्ने धादिङ खनियावास-५ का २६ वर्षीय टेकबहादुर तामाङ र २४ वर्षीय नेनिस तामाङ, नेत्रावती-१ का २८ वर्षीय ठाकुर गुरुङ, र मनोज तामाङ गणेश गुरुङलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो पक्राउ परेका धादिङका ५ जनासँग सोधपुछ गर्दा उनीहरुले साउदी अरबमा रहेका नरेश राउत भन्ने व्यक्तिले भने बमोजिम पैसा झिकेर विभिन्न ठाउँमा पठाउने गरेको बताएका छन् ।
साउदीबाट नरेश राउतले घनुषास्थित संगीता मिश्रको नाममा पैसा पठाउने भनेपछि प्रहरीले पैसा पठाइदियो । धनुषा प्रहरीको सहयोगमा संगीता मिश्र र उनीसँगै रहेकी कामनी तिवारीलाई पनि पक्राउ गर्यो ।
संगीतामाथि प्रहरीले अनुसन्धान र सोधपुछ गर्दा त्यो सम्पूर्ण काम गर्न महोत्तरीका योगेन्द्र तिवारीले लगाएको खुलेपछि धनुषामा पक्राउ गरी प्रहरीले पोखरामा बुझाएको छ ।
सामाजिक सञ्जालबाट ठगी धन्दा चलाउने ठूलो गिरोह नै सक्रिय रहेको कास्की प्रहरी प्रमुख अशोक सिंह बताउँछन् । ‘कसैले यति लाख चिठ्ठा परेको छ । त्यसका लागि यति पैसा चाहिन्छ भने प्रलोभनमा नपर्नुहोला,’ प्रहरी प्रमुख सिंहले भने, ‘यसरी कसैले फोनै गरे पैसा माग्छ भने प्रहरीलाई खबर गर्नुहोला ।’
ठगीमा विदेशीदेखि नेपालीसम्म संग्लन हुने प्रहरी भनाइ छ ।
चिठ्ठा परेको छ भन्दै ठगी धन्दा चलाएको भन्दै पक्राउ परेका ठाकुर गुरुङ धादिङको रेडियो बिहानीका स्टेशन म्यानेजर रहेको स्रोतले बताएको छ । १ जनालाई पोखरा, न्युरोड र १ जनालाई विरौटाबाट मनि ट्रान्सफरबाट पैसा निकाल्दै गर्दा प्रहरीले पक्राउ गरेको हो । पोखरा डयामसाइडमा रहेको झर्ना होटलबाट ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
१ जनाबाट ७५ हजारदेखि ३ लाखसम्म ठगी भएको र सयौं जना यसरी सामाजिक सञ्जालबाट ठगिएको प्रहरी प्रमुख अशोक सिंहले बताए । गिरोहले सर्वसाधारणलाई इमोबाट फोन गर्ने गर्थ्यो । हिन्दी भाषामा २५ लाखदेखि १ करोडसम्मको चिठ्ठा परेको जानकारी दिइन्थ्यो ।
उक्त रकम पाउनुअघि करबापतको पैसा पहिला नै पठाउनुपर्ने भन्दै आइएमइमार्फत् पैसा पठाउन अनुरोध गरिन्थ्यो । सामाजिक सञ्जालमा यस्तो गिरोह सक्रिय रहेकाले सचेत रहन कास्की प्रहरीका प्रवक्ता खड्कबहादुर खत्रीले आग्रह गरे ।
