काठमाडौं,४ चैत । फरार सूचीमा रहेका प्रदेश नम्बर ४ का प्रदेश सभा सदस्य दिपक मनाङे (राजीव गुरुङ) का नाममा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेडकर्नर नोटिस जारी गरेको छ।
सांसद मनाङे देशबाहिर रहेको सूचना पाएपछि प्रहरीको अपराध अनुसन्धान विभागको पहलमा इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको हो।
प्रहरी स्रोतका अनुसार इन्टरपोलले मुख्यालयले गएको साता रेडकर्नर नोटिसमा राखेको जानकारी नेपाललाई दिएको छ।
मनाङे अब इन्टरपोल सदस्य १ सय ९२ देशको प्रहरी खोजीमा छन्।
यसअघि फेब्रुअरी २२ मा इन्टरपोल नेपालले मनाङेको नाममा रेडकर्नर नोटिस जारी गर्न भन्दै कागजपत्र पठाए पनि इन्टरपोल मुख्यालयले उन रेडकर्नर नोटिस जारी गरेको थिएन।
मनाङेको नाममा रेडकर्नर नोटिस जारी गर्न पत्र पठाउनुअगावै इन्टरपोल मुख्यालयमा उजुरी परेका कारण प्रहरीको पत्रलाई वेवास्ता गरिएको थियो।
प्रहरीले फेरि मनाङेको अदालत फैसला र विगतको पृष्ठभूमि पठाएपछि इन्टरपोल मुख्यालयले गत साता सदर गरेको प्रहरी स्रोतले जानकारी दियो।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज नेउपानेले फरार मनाङेको तीव्र खोजी भइरहेको जानकारी दिए।
