शुक्रबार, बैशाख १४, २०८१

वैशाख ९ गते वाम एकता घोषणा हुन्छ : वामदेव गौतम

काठमाडौं,४ चैत । नेकपा(एमाले)का उपाध्यक्ष वामदेव गौतमले आगामी वैशाख ९ गते एकीकृत पार्टी घोषणा हुने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिनमा नै एमाले र नेकपा९माओवादी केन्द्र)ले एकीकृत पार्टी एकताको घोषणा गर्ने तयारी गरेको गौतमले बताए ।
शनिबार काठमाडौंमा एमाले धादिङ– काठमाडौँ सम्पर्क मञ्चले तीनै तहका जनप्रतिनिधिलाई सम्मान गर्न आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकता प्रक्रिया अगाडि बढेको र नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिनमा नै एकताको घोषणा गर्ने तयारी गरिएको खुलासा गरे ।

आफूले लामो समयदेखि दुई पार्टीलाई मिलाउन अधिकतम् प्रयास गरेको र सफलताको दिशामा पुर्‍याएको उल्लेख गर्दै उपाध्यक्ष गौतमले भने, ‘२०६३ सालदेखि मैले एकताको प्रयास गरेँ । अहिले आएर सफल भएको छु । यसलाई अझ सार्थक बनाएर मुलुकलाई समृद्ध बनाउने लक्ष्य छ । त्यो लक्ष्यमा समेत सफलता हासिल गर्नेछ भन्ने विश्वास लिएको छु ।

पार्टी एकता संयोजन समितिले एमालेका नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता रामबहादुर थापाको संयोजत्वका दुई कार्यदल बनाएर सांगठनिक तथा एकीकृत पार्टीको विधान बनाउने काम अगाडि बढिरहेको उपाध्यक्ष गौतमको भनाइ थियो ।
सरकार विस्तार, राष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीको विश्वासको मतलगायत राष्ट्रिय महत्वका काम गर्नुपर्ने भएकाले एकता प्रक्रियाका काममा केही समय लागेको जस्तो भए पनि दुई कार्यदलले छिट्टै प्रतिवेदन बुझाउने बताए।