आइतबार, बैशाख २०, २०८३

खटाएको ठाउँमा कर्मचारी जानैपर्ने प्रधानमन्त्री ओलीको उद्धघोष

काठमाडौं,४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारी सरकारले खटाएको स्थानमा जानै पर्ने बताएका छन् ।
कर्मचारीलाई विशेष सुविधासहितको अवकाश योजना ल्याएर घर पठाउने हैन प्रधानमन्त्री ओलीले भने, “वर्तमान सरकार अनुभवी कर्मचारीलाई घर पठाएर नयाँ कर्मचारी नियुक्त गर्ने पक्षमा छैन । सरकारले खटाएको ठाउँमा कर्मचारी जानुपर्छ ।

शनिवार नेपाल निजामती कर्मचारी संगठनको बधाई ग्रहणपछि प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्मचारीको पेशागत मर्यादा र सुरक्षामा सरकार गम्भीर रहेको बताए । जागिर शुरु गर्दाको शर्तअनुसार सरकारले खटाएको ठाउँमा जनताको सेवा गर्न कर्मचारी अनिवार्य रुपमा जानुपर्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले देश बनाउन अब कुनै पनि बहानामा ढिला गर्न नसकिने उल्लेख गर्दै पुरानो शैली र ढाँचाले देशको विकास प्रक्रियाले गति लिन नसक्ने स्पष्ट पारे । ‘देशको विकास गर्ने कुरामा अब ढिलाढाला गर्न सकिँदैन’ उनले भने, ‘सबैले नयाँ ढंगले सोचौं, नयाँ कामको थालनी गरौँ ।

कर्मचारीको वृत्ति विकासका लागि पनि सेवा प्रवेश गर्दाको शर्त लागू हुने प्रधानमन्त्री ओलीफे बताए । ‘प्रदेशमा सरुवा हुँदा फेरि संघमा आउन नपाइने भन्ने हुँदैन’ उनले भने, ‘आवश्यकताको आधारमा कर्मचारीलाई देशभित्र जता पनि खटाउन सकिन्छ । तर, जहाँ गयो त्यहीँ सीमित भएर बस्नु पर्दैन ।

कर्मचारी स्थायी सरकार भएकाले उसको सहयोग बिना कुनै पनि सरकारले छिटो छरितो ढंगले काम गर्न नसक्ने प्रधानमन्त्री ओलीको प्रष्टोक्ति थियो । नेपाल निजामती कर्मचारी संगठनका टोलीको निजामती क्षेत्र सुधारका लागि ११ बुँदे सुझाव ग्रहन गर्दै प्रधानमन्त्रीलेभने कर्मचारीबाट पनि केही तलमाथि भयो होला’ उनले भने, ‘हिजो देशको अवस्था पनि बिग्रिएको थियो । सरकारको नेतृत्व पनि बिग्रिएको थियो । तर अब सबै कुरा सुध्रिएका छन् । त्यसकारण कर्मचारी पनि समयअनुसार चल्नु पर्दछ ।