आइतबार, बैशाख २०, २०८३

बैंकर्स संघको अन्तर बैंक कारोबार रोक्ने निर्णय एनआईसीद्धारा विरोध

काठमाडौं,२६ फाल्गुन ।  नेपाल बैंकर्स संघले एनआईसी एशियासँग ब्याजदर घटाउन नमानेकै कारण अन्तर बैंक कारोबार रोक्ने निर्णयलाई एनआईसी एशियाले विरोध गरेको छ ।

एनआईसी एशियासँग ब्याजदर घटाउन नमानेकै कारण अन्तर बैंक कारोबार रोक्ने निर्णयलाई कार्टेलिङ भन्दै विरोध गरेको हो ।

बैंकका कार्यबाहक प्रमूख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले भने , ‘व्याजदर भनेको बजारको माग र आपुर्तिको आधारमा निर्धारण हुन्छ, खुला अर्थतन्त्रको नीति ले पनि यही भन्छ । उनी व्याजदर तोक्ने निर्णय संघको नभएको र आवश्यक भएमा राष्ट्र बैंकले नियमन गर्ने बताउँछन्। ‘यो राष्ट्र बैंकले नियमन गर्ने विषय हो, यसले खराब अवस्था ल्याउने थियो भने उहाहरुले नै कडाई गर्ने अवस्था हुन्थ्यो,’ न्यौपानेको तर्क छ । शुक्रबार मात्रै एक सुचना निकाल्दै मुद्दती निक्षेपमा १२ प्रतिशत र बचतमा १० प्रतिशतसम्म नयाँ ब्याज प्रस्ताव गरेको थियो । यसअघि केही वाणिज्य बैंकहरुले बचतको ब्याजदर १० प्रतिशतसम्म पुर्याउँदा राष्ट्र बैंकले यसलाई आफ्नो सफलताको रुपमा ब्याख्या गरेको थियो । गत वर्ष बैंकहरुले व्यक्तिगत बचतकर्तालाई कम ब्याजदर दिएकोमा समेत राष्ट्र बैंकले असन्तुष्टि जनाउदै आएको थियो ।

बैंकहरुले संस्थागत निक्षेपकर्तालाई मात्र बढि ब्याजदर दिएकोमा समेत आपत्ति जनाएको थियो । यद्यपी, राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल भने अहिले यसमा केही बोल्न नमिल्ने बताउछन् ।

‘बैंकहरुले व्याजदर स्थिरीकरण गर्न यस्तो गरेको हुनसक्छ । तर, यस बारेमा हामीले बुझेर मात्रै भन्न सक्छौं,’ नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने ।

राष्ट्र बैंकले समेत बैंकहरुको व्याजदर निर्धारणमा सोझो दबाब दिन सक्दैन् । यसलाई व्यवस्थित गर्नैकै लागि राष्ट्र बैंकले व्याजदर कोरिडोर लगाइएको छ । तर, यसले बैंकहरुको निक्षेप र कर्जाको ब्याजदर व्यवस्थित बनाउन भने सकेको देखिदैन ।

बैंकलाई अन्य बैंकबाट सम्बन्धविच्छेद गराउने संघको निर्णय गलत भएको एनआइसी एशियाको भनाई छ । एनआइसी एशिया बैंकसंग २७ बैंकले कारोबार रोक्ने निर्णय गरेका थिए ।