शनिबार, बैशाख ०८, २०८१

प्रदेश ४ का मुख्यमन्त्री गुरूङले आज विश्वासको मत लिने

पोखरा,२५,फाल्गुन । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिने भएको छन् । आज शुक्रवार विश्वासको मत लिने कार्य सूची प्रदेशसभा सचिवालयले तयार पारेकोे छ ।

मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने, प्रदेशसभा नियामावली पारित गर्ने र आर्थिक कार्यविधि टेबल गर्नेलगायत कार्यसूची तयार पारेका छौं,’ प्रदेशसभा सचिवालयका सचिव शम्भुप्रसाद खड्काले भने ।

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । माघ २८ गते प्रदेश ४ का एमाले संसदीय दलका नेताका रुपमा निर्वाचित गुरुङले २९ गते प्रदेश प्रमुख बाबुराम कुँवरबाट नियुक्ति लिएका थिए ।

६० जना प्रदेशसभा सदस्य रहेको प्रदेश ४ मा मतदानबाट गुरुङको पक्षमा बहुमत अर्थात् ३१ मत प्राप्त हुनुपर्छ । एमालेको २७ र माओवादीको १२ सदस्य रहेकाले गुरुङले सजिलै बहुमत प्राप्त गर्नेछन् । प्रदेशसभाबाट विश्वासको मत प्राप्त भएपछि मुख्यमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने संविधानले नै व्यवस्था गरेको छ ।

प्रदेश ४ मा एमाले, माओवादी बाहेक कांग्रेसको ११, जनमोर्चाको ३, नयाँ शक्तिका २ सदस्य छन् भने १ जना स्वतन्त्र सांसद् छन् । एमालेको समर्थनमा मनाङबाट स्वतन्त्र सांसद बनेका दीपक मनाङे कर्तव्य ज्यान मुद्दामा दोषी ठहरपछि प्रहरीको वान्टेड सूचीमा छन् ।

यसका साथै फागुन २१ मा पेश भएको प्रदेश नियमावली पारित गर्ने कार्यसूची समेत आजको बैठकको छ ।