काठमाडौ,२३ फाल्गुन । राष्ट्रियसभामा मनोनित तीन जना सांसदको सपथग्रहण रोक्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेज भएको छ ।
बुधबार सर्वोच्च अदालतले अन्तरिम आदेश खारेज गरेपछि अब तीन सांसदले सपथ ग्रहण गर्ने बाटो खोलेको छ ।
यसअघि सर्वोच्च अदालतका न्यायाशीध प्रकाश राउतको एकल इजलासले दिएको अन्तरिम आदेशका कारण अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाका साथै रामनारायण बिडारी र विमला पौड्यालले राष्ट्रियसभाको सांसद पदमा सपथ लिन पाएका थिएनन् ।
अब तीनैजना सांसदले सपथ ग्रहण गर्न पाउनुका साथै राष्ट्रपतिको निर्वाचनमा समेत भोट हाल्न पाउने भएका छन् ।
शेरबहादुर देउवा सरकारका पालामा राष्ट्रियसभाका लागि मन्त्रिपरिषदबाट सिफारिस गरिएका तीनजना सांसदको नाम केपी ओली नेतृत्वको सरकारले फिर्ता लिएको थियो । नाम फिर्तापछि ओली सरकारले डा. युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौड्याललाई राष्ट्रियसभामा सिफारिस गरेको थियो ।
