सोमबार, कार्तिक ११, २०८२

पाकिस्तानका प्रधानमन्त्रीलाई गार्ड अफ अनरको सम्मान 

काठमाडौ,२२ फाल्गुन । दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासीलाई सरकारले सैनिक मञ्च टुँडिखेलमा सलामी ‘गार्ड अफ अनर’ ले सम्मान गरेको छ। अब्बासीलाई नेपाली सेनाले गार्ड अफ अनरको सम्मान दिएको हो। अब्बासी टुँडिखेलमा गार्ड अफ अनरले सम्मानित हुने पहिलो विदेशी सरकार प्रमुख हुन्।

त्यसअघि त्रिभुवन विमानस्थलमा गार्ड अफ अनरले सम्मान गर्ने प्रचलन रहेको थियो।प्रधानमन्त्री केपी शर्मा ओलीले टुँडिखेलमा विदेशी सरकार प्रमुखलाई गार्ड अफ अनरले सम्मान गर्ने प्रचलन सुरु गरेका छन् ।

नेपालको दुई दिने औपचारिक भ्रमणका लागि पाकिस्तानी प्रधानमन्त्री अब्बासी सोमबार अपरान्ह नेपाल आएका हुन् । प्रधानमन्त्री ओलीलाई बधाई दिन र सार्क शिखर सम्मेलनका बारेमा छलफल गर्न अब्बासी नेपाल आएका हुन् । उनले सोमबारै साँझ प्रधानमन्त्री ओलीसँग द्विपक्षीय छलफल गर्नेछन् । राष्ट्रपति विद्या भण्डारीसँग शिष्टाचार भेट गरेपछि पाकिस्तानी प्रधानमन्त्री अब्बासी स्वदेश फर्कने कार्यक्रम रहेको पराष्ट्र मन्त्रालयले जनाएको छ ।