काठमाडौ,२१ फाल्गुन ।नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।
पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै पार्टी सभापति देउवा दलको नेता चुनिएका हुन् । अब उनी प्रमुख विपक्षी दलको नेता बन्नेछन् ।
देउवाले ४४ मत पाए भने सिंहले १९ मत पाएका छन् । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् ।
कांग्रेस संसदीय दलको नेतमा पार्टी सभापति शेरबहादुर देउवा विजयी भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेललाई फेरि अर्को धक्का लागेको छ ।
सोमबार दलको नेता चयन गर्न भएको मतदानमा रामचन्द्र पौडेल पक्षधर उम्मेद्वार प्रकाशमान सिंहले १९ मत पाउँदा देउवाले भने ४४ मत ल्याएका थिए । प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी ६३ सांसद रहेको कांग्रेसमा सर्वसम्मत दलको नेता चयन गर्ने प्रयत्न भए पनि पौडेल पक्षले असहमति जनाएपछि मतदान भएको थियो ।
गत मंसिर १० र २१ गते भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा सभापति देउवाकै कारण कांग्रेस उम्मेद्वारहरुले हार खानुपरेको भन्दै पौडेल पक्षले देउवाले त्यसको जिम्मेवारी लिनुपर्ने र दलको नेता समेत अरुलाई नै बनाउनुपर्ने भन्दै आएको थियो । तर, देउवाले पौडेलपक्षको मागलाई वेवास्ता गर्दै दलको नेतामा उम्मेद्वारी दिएका थिए ।
