काठमाडौ,२१ फाल्गुन । काँग्रेस संसदीय दलको नेताका लागि निर्वाचन हुने भएको छ । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहविच चुनाव हुने निश्चित भएको हो ।
नेताका लागि सभापति देउवा र पूर्वमहामन्त्री सिंहको उम्मेदवारी परेको हो । सभापति देउवाले वारेस मार्फत संसदीय दलको नेताको निर्वाचनमा उम्मेदवारी दिएका छन् ।
देउवाले आफ्नो उम्मेदवारीको लागि मिन विश्वकर्मा र भरत कुमार शाहलाई वारेसनामा दिएका थिए। देउवाको प्रस्ताबक विजय गच्छदार र समर्थक मानबहादुर विश्वकर्मा रहेका छन् । अर्का उम्मेदवार सिंहको प्रस्तावक सीतादेवी यादव रहेकी छन् भने समर्थक संजय गौतम रहेका छन् ।
सोमबार बिहान ८:३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिका सदस्य सचिव केशव रिजालले जानकारी दिए । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ सांसदको नाम मतदाता नामावलीमा छ ।
सोमबार बिहान १० देखि दिनको १ बजेसम्म काँग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा मतदान हुनेछ । मतदान समाप्त भएलगत्तै मतगणना शुरु हुनेछ । पार्टीको संसदीय दलको विधानअनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ । संसदीय दलको नेताको निर्वाचनपछि मात्र संसदीय दल कार्यसमितिको निर्वाचन हुने सचिव रिजालले बताए । उम्मेदवारीको दरखास्तसाथ दाखिल हुनुपर्ने शुल्क रु ४१ हजार तोकिएको छ ।
राष्ट्रियसभा दलको नेता प्रतिनिधिसभाको संसदीय दलको नेताले नै तोक्ने काँग्रेस संसदीय दलको विधानमा उल्लेख छ । त्यस्तै, राष्ट्रियसभाका प्रमुख सचेतक प्रतिनिधिसभाको प्रमुख सचेतकको सिफारिसमा संसदीय दलको नेताले नै चयन गर्ने व्यवस्था रहेको सांसद बद्री पाण्डेले बताए । उनन्साठी सदस्यीय राष्ट्रियसभामा काँग्रेसका १३ सांसद छन् । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा निर्वाचन गत माघ २४ गते सम्पन्न भएको थियो ।
