शनिबार, बैशाख ०८, २०८१

आज संघीय नेपालको ऐतिहासिक संसद् बैठक

काठमाडौ,२१ फाल्गुन । संघीय संसद्का ३३४ मध्ये ३२६ सांसदले आइतबार शपथ लिएका छन् । प्रतिनिधिसभाका २७५ मध्ये २७१ र राष्ट्रिय सभाका ५५ सांसदले शपथ गरेका हुन् ।

राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभाका ३ सांसदको शपथ सर्वोच्च अदालतको आदेशका कारण हुन सकेन । प्रतिनिधिसभाका ४ र राष्ट्रिय सभाका एक सांसद शपथग्रहणमा अनुपस्थित रहे ।
संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै सदनको पहिलो बैठक आज (सोमबार) बस्दै छ ।

संघीय संसद्को पहिलो अधिवेशनलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने र त्यसवेला दुवै सदनको संयुक्त बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था छ ।

तर, पहिलो बैठक भने छुट्टाछुट्टै बस्दै छ । सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले संविधानले पहिलो अधिवेशनको पहिलो बैठक नभनेकाले अधिवेशन अवधिभरको जुनकुनै बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने र त्यसवेला मात्रै प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्ने बताए ।