शुक्रबार, चैत १६, २०८०

सर्वोच्चले क्षेत्राधिकार नाघेको प्रधानमन्त्री ओलीको आरोप

काठमाडौं,२० फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले क्षेत्राधिकार नाघेको बताएका छन् । संसद भवनमा एमाले र माओवादी सांसदहरूलाई प्रशिक्षण दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय सभाका तीन सांसदलाई सपथ नगराउन सर्वोच्चले दिएको अन्तरकालीन अन्तरिम आदेशले कार्यकारीको क्षेत्राधिकारमा हस्तक्षेप भएको बताएका हुन्।

यो अदालतको क्षेत्राधिकारको विषय होइन, कार्यकारीको क्षेत्राधिकार भित्रको विषय हो’, ओलीले भने, ‘भोलि पेशी तोकिएको भन्ने सुनेको छु। यस विषयमा अनावश्यक उल्झनमा नरहँदा र चासो व्यक्त नगर्दा हुन्छ।  उनले न्यायाधीशको जन्ममिति विवादको प्रसङ्ग पनि उप्काए।

‘अस्तिसम्म भाइ भनेकालाई जेष्ठ सदस्य भनेर सपथ लिनुपर्ने भएको छ, ‘ओलीले भने, ‘न्यायाधीशको जन्ममिति, डाक्टरको जन्ममिति जताजतै जन्ममिति। एउटा मात्र जन्ममिति भएको म मात्र रहेछु।

ओलीले आफ्नो जन्ममिति समेत सुनाए। साथै जन्ममिति विवादले देशको अवस्था चित्रण गर्ने बताए। आइतबार ६३ वर्षका महिन्द्रराय यादवले नागरिकतामा भएको जन्ममितिका हिसाबले जेष्ठ सदस्यको रुपमा सांसदहरुलाई सपथ खुवाउँदै छन्। नागरिकता अनुसार यादवको जन्ममिति ८० वर्ष पुगेको छ।

ओलीले वाम गठबन्धनले ल्याएको दुई तिहाई गाई कि त्रिशुल खेलेर नआएको टिप्पणी गरे। ‘गाई कि त्रिशुल खेल्दा त्रिशुल परेर यो दुई तिहाई आएको होइन’, ओलीले भने, ‘धेरैको रगत पसिना बग्यो। कतिले जेल नेल र युद्ध भोगे। कसैको छातीमा गोली लाग्यो,  कसैको छेवबाट गयो। यो अनेकौँ संघर्षको परिणाम हो।

उनले वाम गठबन्धनले ल्याएको दुई तिहाईलाई दुरुपयोग गर्ने सुविधा कसैलाई नभएको  पनि बताए ।