आइतबार, बैशाख २०, २०८३

एमाले-माओवादीका संघीय सांसदहरुलाई प्रशिक्षण

काठमाडौं,१९ फाल्गुन । एमाले-माओवादीतर्फबाट संघीय संसदमा निर्वाचित सांसदहरुलाई आज प्रशिक्षण दिइने भएको छ । पार्टी एकता गर्ने गरी अघि बढिरहेका दुई पार्टीले संसदीय गतिविधिमा एकरुपता ल्याउन र उपस्थितिलाई दमदार पार्न सांसदहरुलाई प्रशिक्षण दिन लागेका हुन् ।

संघीय सांसदहरुको शपथ भोलि हुँदैछ । त्यसकै पूर्वसन्ध्यामा शनिबार दिउँसो ११ बजे नयाँबानेश्वरस्थित संसद् भवनमा प्रशिक्षण दिन लागिएको एमाले–माओवादीका नेताहरुले जानकारी दिएका छन् ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले संसद् बैठकमा प्रस्तुत हुने तरिका सिकाउन र दुई पार्टीका सांसदहरुको गतिविधिमा एकरुपता ल्याउन एमाले–माओवादीका सांसदहरुलाई आज प्रशिक्षण दिन लागिएको जानकारी दिइन् ।

सांसदहरुलाई एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डका साथै पूर्वसभामुख सुवास नेम्वाङले विशेष सम्बोधनसहित प्रशिक्षण दिने कार्यक्रम छ ।  समयसामयिक राजनीतिक विषय र एकीकरण प्रक्रियालगायत विषयमा समेत दुई पार्टीका अध्यक्षले जानकारी दिने बताइएको छ ।

एमाले-माओवादीले संघीय संसदका सबै सांसदलाई प्रशिक्षणमा सहभागी हुन सर्कुलर गरेका छन् ।