बिहिबार, बैशाख ०६, २०८१

कांग्रेसको पौडेल समूहले संसदीय दलको नेतामा सिंहलाई अघि सार्ने

काठमाडौं,१९ फाल्गुन ।  नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध प्रकाशमान सिंहलाई अघि सार्ने भएको छ । साथै महामन्त्री शशांक कोइरालाको नाममा सर्वसम्मत भए सिंह पछि हट्नेछन् ।

कांग्रेसमा संसदीय दलको नेता छान्न २१ गते चुनाव तोकिएको छ ।  २० गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । शुक्रबार प्रकाशित निर्वाचन तालिकाअनुसार आइतबार साँझ ६ देखि साढे ७ सम्म उम्मेदवारी दर्ता हुनेछ ।

पौडेल समूहको शुक्रबार बसेको बैठकले सिंहलाई अघि सार्ने निर्णय गरेको हो । पौडेल समूहका एक नेताका अनुसार ‘कांग्रेसमा शेरबहादुर देउवाको विकल्प छ, उनी निर्विकल्प होइन भन्ने सन्देश दिन पनि उम्मेदवारी दिने निर्णय भएको हो । सभापति देउवा असफल भएको भन्दै सिंहले चुनाव लगतै दलको नेता दाबी गर्दै आएका छन् ।

महामन्त्री शशांक कोइरालालाई सर्वसम्मत दलको नेता बनाउने प्रयास पनि भएको थियो । तर, देउवाले कोइरालालाई पनि नछाड्ने र आफैं उठ्ने घोषणा गरेपछि सिंहले उम्मेदवारी दिने तयारी गरेका हुन् ।

प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन्  । ३२ भोट ल्याउने उम्मेदवार दलको नेता बन्नेछन् ।

नेताहरुका अनुसार संसदीय दलमा देउवाको बहुमत छ । पौडेल समूहको भोट १९ हो । त्यसमा पनि पछिल्लो समय केही नेता देउवासँग नजिक भएको बताईएको छ ।  यस्तै कृष्ण सिटौला समूहका ३ र खुमबहादुर खड्का समूहका ५ सांसद छन् । चुनाव हुँदा सिंहको पक्षमा १९ देखि २३ भोट आउने पौडेल समूहको विश्लेषण गरेको छ ।