काठमाडौं,१८ फाल्गुन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि (शनिबार) सरकारले पूर्णता पाउने बताएका छन्। शुक्रबार सुर्खेतको विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
संघीय समाजवादी फोरमसहित सरकार गठनको लागि तयारी चलिरहेकाले सरकार पूर्णता हुनमा केही ढिला भएको भन्दै प्रचण्डले फोरमसहित सरकार गठन हुने जानकारी पनि दिए। अछामको रामारोशनमा हुने महोत्सवको उदघाटनका लागि प्रदेश ७ मा जाने क्रममा इन्धन भर्ने समयमा सुर्खेत एयरपोर्टमा पत्रकारहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले चैतको पहिलो हप्तामा एमाले र माओवादी केन्द्रबीच एकता हुने बताए।
माओवादी र एमालेबीचको एकता सरकार गठनसँगै हुने बताउँदै आएका प्रचण्डले यस्तो बताएका हुन्।
