काठमाडौं,१८ फाल्गुन । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी फागुन २९ गते राष्ट्रपति निर्वाचन हुनेछ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्रै बिहिबारबाट राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। नयाँ संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिको निर्वाचन सम्पन्न गराउन निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन अधिकृत पाटन उच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले जानकारी दिए ।
राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले आगामी २१ गते सोमबारबाट सुरु हुनेगरी निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ । २१ गते मतदाता नामावली प्रकाशन गर्ने, २३ गते उम्मेदवार मनोनयन गर्ने र २९ गते राष्ट्रपति निर्वाचनको मतदान हुनेगरी निर्वाचन कार्यतालिका तय गरिएको पनि निर्वाचन अधिकृत श्रेष्ठले बताए।
निर्वाचन आयोगको गत फागुन १५ गते बसेको बैठकले पाटन उच्च अदालतका न्यायाधीश श्रेष्ठलाई राष्ट्रपति निर्वाचन अधिकृतमा नियुक्त गरेको थियो भने संघीय संसद भवन परिसरभित्रै निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार बिहिबारबाट राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
निर्वाचन आयोगले सरकारसँग परामर्श गरी आगामी फागुन २९ गते मंगलबार राष्ट्रपति निर्वाचनको मिति तय गरेको हो ।
