आइतबार, बैशाख २०, २०८३

वातावरण मूल्यांकन नगरिएका होटल र अस्पताललाई जरिवाना

काठमाडौं,१३ फाल्गुन । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरी संरचना निर्माण गरेका विभिन्न होटल तथा अस्पताललाई जरिवाना र कारबाही गर्ने निर्णय गरेका छन् ।
आइतबार मन्त्रालयमा बसेको बैठकले सोल्टी सिटी अपार्टमेन्ट, द्वरिका होटल, सिद्धि होटल र काठमाडौं गेष्ट हाउसलाई इआइए नगरी सेवा विस्तार गरेकोमा १ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको मन्त्री पण्डितले जानकारी दिए ।
‘कानुनका आवश्यक मापदण्ड पूरा नगरी उनीहरुले संरचना बनाएका रहेछन्, यस्तो अरुले पनि गरेका छन्, तिनलाई कानुनको परिधिमा ल्याउने संकेतस्वरूप यो कारबाही गरिएको हो,’ मन्त्री पण्डितले भने, ‘यो सुरुआतमात्र हो कानुन नमान्ने सबैलाई कारबाहीको दायरामा ल्याउँछु । बैठकले काठमाडौं मोडल अस्पताल, काठमाडौं अस्पताल त्रिपुरेश्वर, नेशनल हस्पिटल र अन्तर्राष्ट्रिय बालअ स्पताललाई पनि कारबाही गर्ने निर्णय गरेको छ ।

त्यस्तै अरनिको सिमेन्ट उद्योग, काठमाडौं दुग्ध विकास आयोजनालाई पनि इआइए नगरेकोमा ५० हजार जरिवाना तिराउने निर्णय भएको मन्त्री पण्डितले जानकारी दिए ।