बिहिबार, बैशाख ०३, २०८३

राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीद्धारा बिदाई

काठमाडौं,१२ फाल्गुन । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि जिम्बाबे जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सरकारले विदाई गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा एक कार्यक्रमकाबीच सम्मान र शुभकामनासहित विदाई गरे। कार्यक्रममा प्रधानमन्त्री ओलीले यस सम्मानले खेलाडीहरुलाई अझै राम्रो खेल्न प्रेरणा मिलेको र युवा खेलाडीका लागि उत्साह थपेको धारणा राखे। उनले अबको पाँच वर्ष यही सरकारले निरन्तरता पाउने भन्दै क्षमताले भ्याएसम्म समग्र खेलको विकासका लागि सरकारले प्रयास गर्ने बताए ।

कार्यक्रममा कप्तान पारस खड्काले समग्र खेलकुद विकासका लागि सरकारी पहलको अपेक्षा गरेको बताए। उनले अबको पाँच वर्षसम्म कायम रहने सरकारले कम्तिमा एउटा फुटबल र एउटा क्रिकेट रंगशाला बनाउन माग गरे । प्रशिक्षक जगत टमाटाले प्रतियोगिताको यात्रा कठीन भए पनि नेपाली टिम पनि कमजोर नरहेको बताए। नेपाली टिम पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा ब्यस्त रहेका कारण फिट भएको प्रशिक्षक टमाटाले बताए ।

यसैबीच नामिवियामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा उपविजेता बनेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सरकारले पूर्वघोषित नगद पुरस्कार वितरण गरेको छ।

नेपाली टोली नामिवियाबाट फर्किएपछि गत मंगलबार टिमलाई सम्मान गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले टोलीका प्रत्येक सदस्य, प्रशिक्षक र फिजियोलाई जनही तीन लाख दिने घोषणा गरेका थिए। सरकारले घोषणा गरेको जनही तीन लाख रुपैयाँ विश्वकप छनोट खेल्न जानुअघि शुक्रबार गरिएको बिदाई कार्यक्रममा टोलीका १४ सदस्य, प्रशिक्षक र फिजियोलाई प्रदान गरिएको हो।

साथै मदन भण्डारी स्पोर्टस फाउण्डेसनले पनि सबै सदस्यलाई १–१ लाख नगद पुरस्कार प्रदान गरेको छ।