आइतबार, बैशाख २०, २०८३

हेटौंडा व्यवस्थित छैन,भक्तपुर नै राजधानी हुनुपर्छ : बस्नेत

काठमाडौं,११ फाल्गुन । नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले प्रदेश ३ को राजधानी हरेक हिसाबले भक्तपुर नै उपयुक्त हुने बताएका छन् ।

उनले भने, ‘यो कुरा मैले भक्तपुरको तर्फबाट मात्रै भनेको होइन, समग्र ३ नम्बर प्रदेशको तर्फबाट भनेको हुँ, प्रदेशको राजधानी बनाउँदा भौगोलिक सुगमता पनि हेरिनुपर्छ, यसअघि सरकारले गठन गरेको प्राविधिक समितिले पनि सानो ठिमी सिफारिस गरेको थियो, हेटौंडा व्यवस्थित छैन ।’

बस्नेतले हेटौडा राजधानी हुनका लागि व्यवस्थित नभएको कुरामा एकमत देखिएको समेत दाबी गरे । यद्यपि, हेटौडाका सांसदहरुले ठिक छ भन्नु स्वभाविक भएको उनको तर्क थियो । बुधबार रिपाेटर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘सानो ठिमी त राजधानी बन्नकै लागि संरचना भएको छ, राजधानी सानो ठिमी भयो भने राज्यको डेढदेखि दुई अर्ब बचत पनि हुन्छ ।’

त्यस्तै, उनले भक्तपुरसँगै काभ्रेको पनि चर्चा भएपनि यो ट्राफिक जामको हिसाबले पनि झन्झटिलो हुने तर्क गरे । उनले राजधानी कहाँ राख्ने भन्नेबारे सांसदहरुले विवेकपूर्ण निर्णय लिनेमा आफू पूर्ण विश्वस्त रहेको सुनाए ।

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारसँग अब अनुनय वा विनयको बहाना नचल्ने जिकिर गरे ।