काठमाडौं,७ फाल्गुन । नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले काठमाडौं उपत्यकामा मुख छोपेर हिँड्नुपर्ने बाध्यता अव धेरै दिन कुर्नु नपर्ने बताएक छन् ।
उपत्यकावासीले यो समस्या अब धेरै दिन बेहोर्नुनपर्ने बताउदै वायु प्रदूषणका कारण अनुहार छोपेर हिँड्नुपर्ने काठमाडौं उपत्यकालाई मुख नछोपी हिँड्ने बनाउन आफू लाग्ने नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री पण्डितले प्रतिबद्धता व्यक्त गरेका छन् ।
उपत्यकामा बढ्दो प्रदूषणको कारण पहिचान गरेर त्यसलाई रोक्ने योजनासहित आफू राजधानी सहरलाई स्वच्छ वातावरण बनाउन लागिपर्ने उनको भनाइ छ । विश्वका राजधानी सहरको तुलनामा काठमाडौं अत्यधिक प्रदूषित सहरका रूपमा चिनिएकोप्रति चिन्ता व्यक्त गर्दै मन्त्री पण्डितले प्रदूषणका कारणहरू पहिल्याएर त्यसलाई निर्मूल पारेरै छाड्ने प्रतिबद्धता जनाएका हुन् ।
नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको ‘पानी’ सार्वजनिक समारोहमा बोल्दै उनले मानिसको जीवन पानीबिना सम्भव नभएकाले पानीको व्यवस्थापनमा वातावरण संरक्षण महत्वपूर्ण विषय भएको औंल्याए ।
‘वातावरण प्रदूषणका कारण पानीका स्रोत फोहोर हुने र त्यसका कारण जनजीवन प्रभावित बन्दै गएको छ,’ उनले भने, ‘म वातावरणको विषयमा सचेत छु, वातावरण प्रदूषित हुँदा समग्र वायुमण्डलमा समेत असर परिरहेको छ ।
वायु प्रदूषणका कारण उपत्यकावासीले सधैं मुख छोपेर हिँड्नुपर्ने अवस्था आउनुको कारण यहाँको जनसंख्या वृद्धि र काठमाडौंप्रतिको आकर्षण बढी हुनु रहेको मन्त्री पण्डितको बुझाइ छ । उनले केही वर्षअघि एक कार्यक्रममा विद्यार्थीहरूले आफूलाई व्यंग्य गर्दै आफूहरूले मुख छोपेर हिँड्नुपर्दा एक आपसमा अनुहार देखाएर हिँड्न नपाउँदा आपसमा चिन्न नै मुस्किल भएकाले त्यसबाट मुक्ति दिलाउन आग्रह गरेको सम्झँदै अब त्यस्तोबाट मुक्त बनाउने प्रतिबद्धता जनाए ।
मुलुकमा पानीको स्रोत तथा पानी अथाह भए पनि त्यसको उचित व्यवस्थापन र संरक्षण गरी उपयोग गर्न नसक्दा समस्या उत्पन्न भएको उनको भनाइ थियो । मैले अघिल्लोपटक सामान्य प्रशासनमन्त्री भएका दिन नै मलाई मन्त्रीको कुर्सीबाट तानेर नै मन्त्रीलाई काम गर्न दिँदैनन् भनिएको थियो,’ मन्त्री पण्डितले भने, ‘मैले आफूले कर्मचारी प्रशासनमा सुधारको अभ्यास छोटो समयमा नै पूरा गरेर देखाएको थिए ।
यस्तै, अब पनि वातावरण मन्त्रालयमा पनि वातावरण संरक्षणमा समस्या उत्पन्न हुने र प्रदूषित बनाउने तत्वहरूको पहिचान गरेर त्यस्तालाई कडा कारबाही गर्ने उनले बताए । ‘यसपटक पनि म मन्त्री भएको एक घण्टा पनि नबित्दै वातावरणका क्षेत्रमा ठूलो समूहले राम्रो काम गर्न रोक्छन् भन्ने सन्देश मैले पाए ’ उनले भने, ‘मैले कस्तो समूह छ भन्दा मलाई प्रदूषण गर्ने पुराना सवारी हटाउनबाट रोक्ने गिरोह छ, वातावरण संरक्षणसम्बन्धी ऐन नियम कार्यान्वयन हुने नदिने ठूलो गिरोह सक्रिय छ भनियो ।
आफूले पहिला जुन तरिकाले काम गरेको हो, सोही तरिकामा वातावरण संरक्षणको क्षेत्रमा महत्वपूर्ण काम गरेर नै अघि बढ्ने मन्त्री पण्डितले बताए । उनले २० वर्षे पुराना सवारी विस्थापित गर्ने निर्णय कार्यान्वयनमा ल्याएरै छाड्ने बताए ।कोही कसैले सरकारले बनाएको नियम पालना गर्न अटेर गरेमा त्यसलाई कडाभन्दा कडा कारबाही गर्ने, कानुन बनाएर नै आफू अघि बढ्ने तयारीमा रहेको उनले जानकारी दिए । उनले उपत्यकाको प्रदूषणको मुख्य कारण नै पुराना सवारी भएकाले त्यस्ता सवारीसाधन हटाएरै छाड्ने बताए ।
