काठमाडौं,७ फाल्गुन । ब्यवसायीलाई राजस्व छली गरेको आरोपमा दुःख दिने आन्तरिक राजस्व कार्यालयले भाटभटेनी सुपरमार्केटले करोडौं रुपैयाँ राजस्व छली गर्दा पनि केही कारबाही नगरेको पाइएको छ । भाटभटेनी सुपरमार्केटले घरबहाल कर नै नतिरी पाटनमा सुपरमार्केट संचालन गरेको पाइएको हो ।
ललितपुर महानगरपालिकाको आर्थिक विकास समिति, वडाअध्यक्ष र नगर प्रहरी बलको संयुक्त अनुगमन टोलीले भाटभटेनी सुपरमार्केटले राजस्व छली गरेको ठाहर गरेको छ । ललितपुर महानगरपालिकाले गरेको अनुगमनमा यस्तो देखिएको हो । तर भाटभटेनीका कोटेश्वर, अनामनगर, महाराजगंज, भाटभटेनी, चुच्चेपाटी, त्रिपुरेश्वर लगायतका स्टोरमा पनि छानबिन गरेमा कर छलेको फेलापर्ने स्रोत बताउँछ ।
केही बर्षअघि भाटभटेनी सुपरमार्केटमा आगलागी भएको र सो आगलागीमा भ्याटबिल मात्र जलेको समाचार सार्वजनिक भएको थियो । भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङले करछली गरेकाले प्रमाण नष्ट गर्न भ्याटबिलमा आगो लगाएको आरोप लागेको थियो । बहालकर त नतिर्ने भाटभटेनीले अरु कर कति छल्छ भन्ने प्रश्न उठेको छ ।
निर्माण भएको चारवर्षसम्म सम्पन्नताको कागजात नलिएको र कर तिर्न अटेरी गर्दै आएको भाटभटेनी सुपरमार्केटले बल्ल सो कर बुझाएको हो।यो सँगै भाटभटेनीले मार्केटको भवनको नक्सा पास समेत गरेको छ। घर सम्पन्नताको कागजात नलिई जबरजस्ती व्यवसाय सञ्चालन गरेको भाटभटेनीले नक्सापास सहित तिर्नुपर्ने कर चुक्क्ता गरेपछि उसको सो मार्केट बल्ल वैधानिक बनेको नगरपालिकाको भनाई छ।अहिलेसम्म पोखरामा संञ्चालित भाटभटेनी सुपरमार्केट वैधानिक थिएन, आईतवार नक्सा पास शुल्क वुझाएपछि वल्ल वैधानिक भएको कर अधिकृत शिवहरि शर्माले बताए।
नक्सापास वापत रु २८ लाख ७५ हजार ९ सय ५३ रुपैयाँ दाखिला गरेको नगरपालिकाले जनाएको छ। त्यसैगरी पुरानो कर बाँकी वापत रु २८ लाख ५८ हजार ८ सय ५ रुपैयाँ पनि भाटभटेनी सुपरमार्केटले नगरपालिकामा दाखिला गरेको छ। लामो समयसम्म ताकेता गर्दा पनि अटेरी गर्दै आएको भाटभटेनीले अन्तिममा नक्सापाससहित हालसम्मको सबै कर चुक्क्ता गरेको कर अधिकृत शर्माले जानकारी दिएका छन्।
पोखराको मुख्य बजार न्युरोडमा मार्केट सञ्चालनमा ल्याएको भाटभटेनीसँग नगरपालिकाले दर्जनौं पटक कर तिर्न ताकेता गरेपछि नगरपालिकामा कर असुली गर्न आएको कार्यकारी अधिकृत नवराज ढुंङ्गानाले जानकारी दिएका छन्। पछिल्लो समयमा भाटभटेनीका सञ्चालक मीनवहादुर गुरुङसँग नगरपालिकाले कर तिर्न ताकेता गरेको उनले जानकारी दिए।
सबै करदातासँग छलफल गरेर समस्या के हो बुझ्ने र तिर्नुपर्ने कर तत्काल तिर्न लगाउने हाम्रो अभियान हो उनले भने।
अन्ततः भाटभटेनी सुपर मार्केट आफैँ नगरपालिकामा पुगेर कर दाखिला गरेपछि पोखरा उपमहानगरपालिका कार्यालयको आर्थिक सुशासनमा सफलता मिलेको वरिष्ठ इन्जिनियर शारदा मोहन काफ्लेले बताए।
नगरपालिका कार्यालयले भाटभटेनीसँगै पोखराका दर्जनौं ठूला करदातालाई पत्राचार गरी छलफल अगाडि बढाएको दावी गरेको छ। यसैगरी पोखराको लेकसाईडमा सञ्चालमा रहेको होटल ट्याम्पल ट्रीले रु १५ लाख कर हालै नगरपालिकामा दाखिला गरेको कर अधिकृत शर्माले जानकारी दिएका छन्।
लेकसाईडमा रहेको अतिथि रिसोर्ट, फिस्टेल, विरौटामा रहेका होटल ग्राण्ड, फूलवारी रिसोर्ट, मणिपाल शिक्षण अस्पताल तथा न्युरौडका दर्जनौं ठूला करदाताहरुसँग कर दाखिला सम्वन्धि निरन्तर सकारात्मक वार्ता भएको उनले जानकारी दिएका छन्।
यसैगरी नेपाल हवाई खेलकुद संस्थासँग पनि कर दाखिला सम्वन्धी सकारात्मक वार्ता भएको नगरपालिका कार्यालयले जनाएको छ। सो संस्थाले पोखरामा प्याराग्लाईडिङ कम्पनी सञ्चालन गरे बापत नगरपालिकालाई रु १ करोड २० लाख रुपैयाँ तिर्न बाँकी रहेको पोखरा उपमहानगरपालिका कार्यालयको दावी छ।
यता प्याराग्लाईडिङ कम्पनीहरुले भने पोखरामा पूर्वाधार र केही कर छुटको मागदावी गर्दै आएका छन्। पोखराको मणिपाल शिक्षण अस्पतालले मात्र नगरपालिकालाई हाल रु ८ करोड कर तिर्न बाँकी रहेको कर अधिकृत शर्माले जानकारी दिएका छन्।
यसअघि रु ११ करोड कर तिर्न बाँकी रहेको मणिपाल शिक्षण अस्पतालले बीचमा केही कर भुक्तानी गरेपनि अझै कर तिर्न आलटाल गरेको उनले जानकारी गराए। अब पोखराका ठूला करदातालाई कर तिर्न उत्साही बनाउने योजनामा हामी छौं कर अधिकृत शर्माले भने ।
