पोखरा,६ फाल्गुन । प्रदेशसभा ४ को उपसभामुख चयनका लागि बैठक आइतबार दिउँसो १ बजे बस्दैछ । प्रदेशसभा उपसभामुखमा एमाले सांसद सिर्जना शर्माले बिहान ९ बजे मनोनयन दर्ता गराएकी छन् । एमाले सांसद मायानाथ अधिकारीको प्रस्ताव र माओवादी प्रदेश ४ का प्रमुख सचेतक गायत्री गुरुङको समर्थनमा शर्माले उपसभामुखमा मनोनयन दर्ता गराएकी हुन् ।
सभामुखमा माओवादी केन्द्रका सांसद नेत्रनाथ अधिकारी चयन भइसकेका छन् । सभामुख र उपसभामुख फरक पार्टी र फरक लिंगका हुनुपर्ने संवैधानिक प्रावधान अनुसार एमालेबाट महिला सांसद शर्मालाई वाम गठबन्धनले समर्थन गरेको छ ।
३ जना आकांक्षी भएपछि एमालेले शनिबार नै उपसभामुखको टुंगो लगाउन भने सकेको थिएन । उपसभामुखमा सिर्जनासँगै मित्रकुमारी सुवेदी गुरुङ र नरदेवी पुनको पनि आकांक्षा थियो । आइतबार बसेको एमाले संसदीय दलको बैठकले सिर्जनालाई सिफारिस गरेको थियो ।
वाम गठबन्धनको बहुमत रहे पनि कांग्रेसले पनि उपसभामुखमा उम्मेदवार उठाएको छ । कांग्रेस सांसद मनकुमारी गुरुङले पनि मनोनयन दर्ता गराएकी छन् । उनी नेपाल महिला संघको गोरखा जिल्ला अध्यक्ष हुन् ।
