आइतबार, बैशाख २०, २०८३

एमालेका अध्यक्ष ओली मुलुकको ४१ औं प्रधानमन्त्री नियुक्त

काठमाडौं,४ फाल्गुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको ४१ औं प्रधानमन्त्री नियुक्त भएका छन् । माओवादीको समर्थनमा बहुमतको दाबी पेश गरेपछि राष्ट्रपतिले विहीबार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । अब ओलीले ३० दिनभित्र सदनमा विश्वासको मत प्राप्त गर्नुपर्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई विहीबार प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादी केन्द्रले बिहीबार नै राष्ट्रपतिसमक्ष बहुमतको दाबीसहित समर्थनको पत्र बुझाएका थिए ।

वाम नेताहरु बालुवाटार पुग्दा प्रधानमन्त्री शेरबहादुर देेउवाले राजीनामा दिएकै थिएनन् । हतार-हतार अन्तिम मन्त्रिपरिषद् बैठक राखेका देउवाले बालुवाटारबाटै देशवासीलाई सम्बोधन गर्दै राजीनामा दिए । लगत्तै बालुवाटार पुगेका उनले राजीनामा बुझाए ।

वाम नेताहरुलाई अर्को कोठामा राखेर राष्ट्रपतिले देउवाको राजीनामा बुझिन् । र, ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको पत्र दिइन् । आफ्नो पक्षमा बहुमत दाबी गर्दै विहान ९ बजेतिरै शीतलनिवास पुगेका वाम नेताहरु ओलीले नियुक्ति बुझेपछि मात्रै बाहिरिएका थिए ।

नवनिर्वाचित प्रधानमन्त्री ओलीले बिहीबार अपरान्ह पद तथा गोपनीयताको सपथ लिए । शीतल निवासमा आयोजित समारोहमा ओलीले राष्ट्रपति भण्डारीसमक्ष सपथ लिएका हुन् । सपथग्रहण समारोहमै निर्वमान प्रधानमन्त्री शेरबहादुर देउवाले ओलीलाई सत्ता हस्तान्तरण गरे ।

लालबाबु पण्डित र थममाया थापा मन्त्री नियुक्त 

नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले सांसद लालबाबु पण्डित र थममाया थापा मन्त्री नियुक्त गरेकी हुन् ।

पण्डित वातावरण मन्त्री भएका छन् थापा महिला तथा बालबालिका मन्त्री भएकी छिन् । मन्त्रीद्वयले बिहीबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।