काठमाडौं,३ फाल्गुन । क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ । नेपालको जितमा करण केसी नायक बने ।
१९५ रनको लक्ष्य पछ्याएको नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो । तर, करणले सन्दिप लामिछानेसँग लोभलाग्दो आक्रामक पारी खेल्दै नेपाललाई जित दिलाए । अन्तिम ओभरमा नेपाललाई ६ बलमा ८ रन चाहिएको थियो र क्रिजमा करण थिए । लगातार चार बल उनले रन जोड्न सकेनन् । तर, पाँचौं बल छक्का हान्दै जितको आश जगाए ।
अर्को बल बाइड भएसँगै नेपालको खातामा एक रन थपियो र दुबै टिमको स्कोर ड्र भयो । अब अन्तिम बलमा मात्र एन रन चाहियो, जुन करणले सहजै पुरा गरे र नेपाललाई डिभिजन टूको फाइनलसँगै विश्वकप छनोटमा पुर्याए ।
३१ बलको सामना गरेका उनले ३ चौका र चार छक्को मदतमा नटआउट ४२ रन बनाए । जिम्बावेको टिकट पक्का गर्न १९५ रनको लक्ष्य पछ्याएको नेपाललाई त्यसबेला झड्का लाग्यो, जब पानीले खेल रोकियो ।
खराव सुरुवातका बाबजुद त्यसबेला नेपालले ३४ ओभरमा ५ विकेट गुमाएर ११५ रन बनाएको थियो । रोहितकुमार पौडेल र आरिफ शेख क्रिजमा जमेका थिए ।
