काठमाडौं,२ फाल्गुण । एकता प्रक्रियामा रहेका एमाले र माओवादीबीच पार्टी र सरकारको नेतृत्व भागवण्डामा चलाउने सहमति जुटेको छ । यसलाई अन्तिम रुप दिन मानभवनस्थित एक घरमा पार्टी एकता संयोजन समितिको बैठक चलिरहेको छ ।
त्यसअघि एमाले स्थायी कमिटी र माओवादी केन्द्रीय कार्यालयका छुट्टा-छुट्टै बैठक बसेको थियो र एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले ‘वान टु वान’ वार्ताहरुमा आफूहरुबीच भएको सहमति जानकारी गराएका छन् ।
दुबै दलका नेताहरुले बताए अनुसार एकतापछि पार्टीमा प्रचण्ड र ओलीको संयुक्त नेतृत्व हुनेछ भने प्रधानमन्त्री आलोपालो हुनेछन् । ओलीले द्वि-अध्यक्षमा सहमति नजिक रहेको बताएका छन् भने प्रचण्डलेसहअध्यक्ष भनेका छन् ।
द्वी-अध्यक्ष कि सहअध्यक्ष भन्ने एकता संयोजन समितिको बैठकले टुंगो लगाउने छ । एक नेताले भने, ‘दुबै नेताले आफूहरुलाई सहज हुने गरी प्रस्ताव ल्याउने कुरा भएको छ ।’
एमाले र माओवादीबीच ओली र प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने सहमति पनि जुटेको छ ।
माओवादी नेताहरुले यो भद्र सहमति भइसकेको दाबी गर्दै आएका थिए भने एमालेले अस्वीकार गरेका थिए । यद्यपि वाम गठबन्धनका सुत्रधार एमाले उपाध्यक्ष वामदेव गौतमले सार्वजनिक रुपमा नै आलोपालो प्रधानमन्त्रीको सहमति भएको बताएका थिए ।
बुधबार एमाले अध्यक्ष ओलीले ‘प्रचण्डजीले जोड दिनुभएको छ’ भन्दै आलोपालो स्वीकार गरेको पार्टी नेताहरुलाई बि्रफिङ गरेका छन् । स्रोतका अनुसार एमाले यसमा सहमत भएको छ, तर दुई नेताको कार्यकाल केही घटीबढी हुनेछ ।
एमाले अध्यक्ष ओली सुरुमा प्रधानमन्त्री हुनेछन् र उनको कार्यकाल तीन वर्ष हुनेछ । बाँकी दुई वर्षका लागि प्रचण्ड प्रधानमन्त्री हुने एमालेको प्रस्ताव रहेको एक नेताले बताए ।
आजको बैठकले पार्टी एकता गर्ने सहमति भएको घोषणा गर्न सक्छ । साथै विचार र संगठनबारे गृहकार्य गर्न दुई छुट्टाछुट्टै कार्यदल बनाउने एक नेताले बताए ।
पार्टी कमिटीहरु छरितो बनाउने दुबै दलको सहमति छ ।
