आइतबार, बैशाख २०, २०८३

प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री देउवाको अध्यक्षतामा समिति

काठमाडौं,२४ माघ । प्रजातन्त्र दिवस भव्यरुपमा मनाउन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा ६८औँ प्रजातन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ ।

गृह मन्त्रालयको आयोजनामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको समितिको बैठकले देशभर र विदेशस्थित नेपाली नियोगमा समेत फागुन ६, ७ र ८ गते भव्यताका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री अध्यक्ष तथा प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्रीहरु, पूर्वप्रधानमन्त्रीहरु, पूर्वप्रधानन्यायाधीश, उपसभामुख, मन्त्रीहरु, पूर्वसभामुख, राज्यमन्त्री, व्यवस्थापिका–संसद्का सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत सदस्य रहेको तथा गृहसचिव सदस्यसचिव रहेको प्रजातन्त्र दिवस मूल आयोजक समिति गठन गर्ने निर्णय आजको बैठकले गरेको छ ।

बैठकले सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, काठमाडौँ महानगरपालिकाका प्रमुखको संयोजकत्वमा मञ्च सजावट तथा मञ्च व्यवस्था उपसमिति, काठमाडौँका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मैदान, कवाज, ब्यायाम व्यवस्थापन उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

फागुन ६ गते काठमाडौँ उपत्यकाभित्रका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाले आफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्ट्रिय झण्डा एवं ब्यानर सजाई नगरको सरसफाइ तथा सजावट गर्ने र प्रजातन्त्र दिवश भव्यरुपमा मनाउन सञ्चारमाध्यमबाट सार्वजनिक अपिल गर्ने तथा रेडियो नेपालबाट परिसंवाद चलाउने गृह मन्त्रालयको प्रस्तावलाई बैठकले अनुमोदन गरेको छ ।