रामेछाप,२४ माघ । रामेछापको ग्रामिन क्षेत्रमा खटिएका इञ्जिनियरले भूकम्प पीडितवाट पैसा असुलेको खुल्न आएको छ ।
सरकारले भूकम्प पीडित सेवा र सुविधालाई निःशुल्क रुपमा प्रदान गर्ने बताए पनि गाउँमा खटिएका कतिपय इञ्जिनियरले भने सरकारी निर्देशनको अवज्ञा गर्दै सर्वसाधारणसँग अनावश्यक रुपमा रकम असुल्दै आएका हुन ।
२०७२ सालको भूकम्पबाट प्रभावित भूकम्प पीडितका लागि मन्थली नगरपालिकाबाट खटिएका इञ्जिनियर अशोककुमार महतोले मन्थली नगरपालिका वडा नम्बर ११ र १२ का भूकम्प पीडितबाट प्रति घर नक्सा वापतको २ हजार रुपैयाँ असुलेको फेला परेपछि उक्त तथ्य बाहिर आएको हो ।
इञ्जिनियर महतोले नामै थाहा नभएको कन्सल्टेन्सीको नाममा किर्ते छाप बनाएर आफैले पीडितको नक्सा बनाउने र आफैले किर्ते सही गरेर पीडितलाई नक्सा वितरण गर्दै आएका छन् ।
वडा नम्बर ११ का भूकम्प पीडित ध्रुव बुढाथोकीले दिएको जानकारी अनुसार इञ्जिनियर महतोले कच्ची घरको नक्सा पास गरेवापत प्रति घर २ हजार रुपैयाँ असुल्दै आएका छन् ।
पुनर्निमार्ण प्राधिकरणले जिल्लाका सबै वडा हुँदै बस्तीस्तरसम्मका भूकम्प पीडितको काम तत्काल सहज र सरल ढंगले सम्पन्न गर्ने गरी सबै वडाहरुमा इञ्जिनियर तथा ओभरसियरहरु खटाइसकेको छ । गएको पुस मसान्तसम्ममा करिब २ लाख भूकम्प पीडितले दोस्रो किस्ता वापतको लागि नयाँ घरको डिपीसी समेत गरेका छन् ।
त्यसै क्रममा इञ्जिनियर महतोले प्रति घर २ हजार रुपैयाँ असुल गरी सोही मध्येबाट प्रतिघर ५ सय रुपैयाँ सम्बन्धित वडा कार्यालयमा जम्मा गर्दै आएका छन् । नगरपालिकाले भूकम्प पीडितको भवन निमार्ण गर्दा नक्सा पास गरे वापत प्रति घर ५ सय रुपैयाँ मात्र लिने निर्णय गरेको थियो ।
तर इञ्जिनियर महतोले भने घर निर्माण गरेका सबै भूकम्प पीडितबाट रकम संकलन गरी प्रति घर २ हजारका दरले पैसा लिने गरेको खुलासा भएको छ । महतोले २ हजार रुपैयाँका दरले अनावश्यक रकम असुल्दै आए पनि सम्बन्धित पक्षले घटनाका बारेमा कुनै पनि चासो नदेखाएको पीडितको गुनासो छ । महतोसँग कुरा गर्दा आफूले ३ सय घर भूकम्प पीडितसँग प्रतिघर २ हजार रुपैयाँ लिएको स्विकार गरे ।
भवन निमार्ण गर्नुअघि नक्सा अनिवार्य रुपमा वडा कार्यालयमा पेश गर्नुपर्ने पुनर्निमार्ण प्राधिकरणको नियम अनुसार घर बनाउदा लाग्ने नक्सा वापतको रकम प्रति घर २ हजार रुपैयाँ आफूले लिँदै आएको र वडा कार्यालयमा भने प्रति घर ५ सय रुपैयाँ जम्मा गर्ने गरेको महतोले बताए ।
मन्थली नगरपालिका प्रमुख रमेशकुमरा बस्नेतले भने इञ्जिनियरले रकम असुलेको भए निजलाई नियमअनुसार कारवाहीको दायरामा ल्याएर छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
आफूलाई यस्तो घटनाको आधिकारीक जानकारी कतैबाट नआएको भन्दै बस्नेतले घटनाको बारेमा अनुसन्धान र जानकारी लिएर कार्वाहीको प्रक्रिया अघि बढाउने आश्वासन दिनुभयो ।
