शुक्रबार, बैशाख ०७, २०८१

पार्टीले जिम्मेवारी दिए आफू राष्ट्रपति बन्न तयार : खनाल

काठमाडौं,२३ माघ ।  नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले ठुला पदमा पुरानै ब्यक्तिलाई दोर्याउनु नहुने बताएका छन्। साथै उनले पार्टीले जिम्मेवारी दिए आफू राष्ट्रपति बन्न तयार रहेको बताए ।

वरिष्ठ नेता खनालले राष्ट्रपति जस्ता ठूल्ठूला जिम्मेवारी दोहोर्‍याएर दिन नहुने धारणा राखे । राष्ट्रपति विद्या भण्डारीलाई नै दोहोर्‍याउने चर्चा भइरहँदा खनाल त्यसको विपक्षमा उभिएका हुन् । इरानमा आयोजित आइक्यापको २९ औं बैठकमा भाग लिएर मंगलबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै आफू पदको लागि मरिहत्ते गर्ने पक्षमा भने नरहेको पनि स्पष्ट पारे । वरिष्ठ नेता खनालले पार्टीले मूल्यांकन गरेर दिएको जुनसुकै जिम्मेवारी पूरा गर्न आफू प्रतिवद्ध रहेको पनि दोहोर्‍याए ।

वरिष्ठ नेता खनालले माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया छिट्टै निश्कर्षमा पुग्ने दावी समेत गरे । उनले विचार र संगठनात्मक समस्या समाधान गर्न २ पार्टीबीच छलफल भइरहेको जानकारी पनि दिए । वरिष्ठ नेता खनालले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणलाई स्वभाविकै रुपमा लिनुपर्ने धारणा पनि राखे ।