आइतबार, बैशाख २०, २०८३

हेटौंडामा सांसद्लाई डेरादेखि सवारी व्यवस्थापनसम्मको तयारी

काठमाडौं,२३ माघ । प्रदेश ३ को अस्थायी राजधानी हेटौंडाका वासिन्दाले स्थायी राजधानी नै यहीँ कायम गर्न सांसदलाई डेरा खोज्नेदेखि सवारी व्यवस्थापनका विभिन्न तयारी गरेका छन् ।

हेटौंडा उपमहानगरपालिकाले सांसदहरुलाई भाडाको घरमा बस्न नपर्ने गरी आवास व्यवस्था गर्न लागेको छ । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतका अनुसार यहाँ सांसदहरुका लागि सरकारी भवनमा नै आवासको व्यवस्था गर्ने तयारी छ ।
अन्य जिल्लाबाट आउने सांसदलाई सरकारी भवनमा आवास मिलाउने तयारी गरिएको उनले बताए । ‘जम्मा ११० जनाबाट १० जना मन्त्री बन्ने भएकाले उहाँहरुको लागि आवासको व्यवस्था मिलिसकेको छ, चारजना मकवानपुर र छजना चितवनकाबाहेक अरु ९० जनालाई आवासको व्यवस्था हामी गर्दैछौँ’ उनले भने ।

महतका अनुसार भैंसेमा रहेको हेटौँडा सिमेन्ट उद्योगको क्वार्टर,हेटौँडा कपडा उद्योगको खाली भवन, टिम्बर कर्पोरेसनको क्वार्टर र डिभिजन सडक कार्यालय भवनलाई सांसदको आवास बनाउने तयारी भइरहेको छ ।

मकवानपुरलाई स्थायी राजधानी बनाउन हेटौँडा उपमहानगरपालिकाले गरेको भवन व्यवस्थापनले थप मद्दत मिल्ने मकवानपुरका सांसद प्रेमबहादुर पुलामीले बताए ।

मकवानपुरकै अर्का सांसद इन्द्रबहादुर बानियाँले स्थायी राजधानीका लागि सांसदहरुको आवास पनि महत्वपूर्ण रहेको बताए । उनले हेटौँडामा सांसदलाई अन्य प्रदेशमा जस्तो कोठा खोज्न भौँतारिनुनपर्ने जानकारी दिए ।

मकवानपुर उद्योग वाणिज्य संघले हेटौँडा बजारको सडकपेटीमा व्यवसाय गर्न रोक लगाउने र भारी सवारी आगमनमा समय निर्धारण गर्ने निर्णय गरेको छ ।

संघका अध्यक्ष कृष्ण कटवालले हेटौँडाका सडकपेटीमा अस्तव्यस्त व्यवसाय र सडक नै जाम हुनेगरी रोकिने भारी सवारी साधनले राजधानी बनाउने सवालमा राम्रो सन्देश नजाने भएकाले यस्तो निर्णय गरिएको बताए ।