आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता ज्ञवालीले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप सुमधुर भएको दाबी गर्दै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेलगत्तै मोदी नेपाल भ्रमणमा आउने बताए।
स्वराजको नेपाल भ्रमणअघि नै एमाले अध्यक्ष केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिचको टेलिफोन वार्तामा दुवै पक्षले एक–अर्कालाई भ्रमणको निम्तो दिएकोले सोही अनुसार मोदी नेपाल आउने ज्ञवालीले बताए।
‘जसरी मोदीले ओलीलाई दुईपटक फोन गर्नुभयो, उहाँ स्वराज नेपाल भ्रमण आएर अविश्वास हटाउनुभयो,’ ज्ञवालीले भने।
ओलीले मोदीलाई जनकपुर र मुक्तिनाथको भ्रमण रोकिएको स्मरण गराउँदै नेपाल भ्रमणको निम्तो दिएको पनि ज्ञवालीले बताए। नेपाल–भारत द्वीपक्षीय सम्बन्ध सुधार भएको उनको विश्वास छ। ज्ञवालीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा भएको अविश्वास हटेको दाबी गरेका हुन्।
स्वराजको भ्रमण भारत सरकारको रुचिअनुसार भएको दाबी गर्दै ज्ञवालीले अनावश्यक टिकाटिप्पणी गर्न उचित नभएको जिकिर गरे।
‘वामपन्थीको बहुमत आएकोमा बधाई दिँदै नयाँ सरकार गठनपछि सहकार्य गरौं भन्नका लागि स्वराज आउनुभएको हो। नयाँ सरकारसँग सहकार्य गर्नका लागि वातावरण बनोस् भन्ने भारतको चाहना हो,’ ज्ञवालीले भने।
विगतमा नेपालमा नयाँ सरकार बन्ने बेलामा नेपालकै नेताहरु भारत दौडिने गरेकोमा अहिले भारतका मन्त्री नेपाल आउनु सकारात्मक भएको उनले बताए।
