बिहिबार, बैशाख १३, २०८१

प्रदेश सरकार सानो र छरितो बनाउने वाम गठवन्धनको तयारी

काठमाडौं,१२ माघ ।  एमाले र माओवादी नेताहरु प्रदेश सरकार गठनको गृहकार्यमा जुटेका छन् । प्रदेश सांसदको कुल संख्यामा १० प्रतिशत नबढ्ने गरी मन्त्री बनाउन सहमत भएका छन् ।
प्रदेश सरकारहरु निकै सानो र छरितो आकारका हुनेछन् । ६ नम्बर प्रदेशमा मन्त्रीहरुको संख्या ५ मात्रै हुनेछ ।

विहीबार सिंहदरबारमा प्रदेश सरकारबारे गृहकार्य गर्न बनेको सुवास नेम्वाङ नेतृत्वको वाम कार्यदलको बैठक बसेको थियो । बैठकमा नेताहरु प्रदेश सांसदको १० प्रतिशत नबढ्ने गरी प्रदेशका मन्त्रीहरु छनोट गर्न सकारात्मक देखिएका छन् । कार्यदल सदस्य सुरेन्द्र पाण्डेले भने, यो हाम्रो कुरा भयो, पार्टी एकता संयोजन समितिले के निर्णय गर्छ, अहिले नै भन्न सकिन्न ।

संविधानले प्रदेशमा कुल सांसद संख्याको २० प्रतिशतसम्म मन्त्री बनाउन पाइने व्यवस्था गरेको छ । तर, मन्त्री धेरै बनाउन नहुनेमा वाम नेताहरुको जोड छ ।

संविधानले केन्द्र सरकारमा बढीमा २५ सदस्यीय मन्त्रिपरिषदको परिकल्पना गरेको छ । र, २७५ सदस्यीय प्रतिनिधिसभा र ५९ सदस्यीय राष्ट्रियसभा दुबै सदनका सदस्यहरु मन्त्री बन्न सक्छन् ।

‘केन्द्रमा २५ मन्त्री हुनु भनेको संघीय सदस्य सदस्यको ७-८ प्रतिशत मात्रै हुन्छ’ एमालेका एक नेता भन्छन्, कुल सांसदको १० प्रतिशत कटाउनुहुन्न भनेर नै संविधान बनाउँदा बढीमा २५ सदस्यीय भनिएको हो ।

पाण्डेले अघि भने, ‘तर, प्रदेशसभा २० प्रतिशत लेखिएको छ, यो गलत भयो भन्ने हाम्रो मत हो । प्रदेश नं ६ मा ५ जनामात्रै मन्त्री हुनेछन् भने बढी प्रदेश ३ मा ११ हुनेछ । प्रदेश १ मा ९ जना ,२ मा १० जना ,४ मा ६ जना ,५ मा ९ जना ,६ मा र ७ नम्वर प्रदेशमा ५-५ जना मन्त्री बनाउने तयारी भैरहेको छ । यदि १० प्रतिशत मात्र गर्ने हो भने प्रदेश ६ मा चारजना मात्रै मन्त्री हुनेछन् । तर, बढीमा ५ जना बनाउन सकिने वाम कार्यदलका नेताहरुको निष्कर्ष छ ।