शुक्रबार, बैशाख ०७, २०८१

जापान,कोरिया र साउदीबाट सीधा उडान विस्तार गर्ने निगमको योजना

काठमाडौं,१० माघ । नेपाल वायुसेवा निगमले नयाँ जहाज ख़रीद गरेपछि तीन देशबाट सीधा उडान विस्तारको योजना तयार पारेको छ ।

निगमले जापानको ओसाका, दक्षिणकोरियाको सोल र साउदी अरेबियाको रियादमा उडान विस्तारको योजना तयार पारेको हो । त्यसका लागि निगमले ‘अपरेसन परमिट’को प्रक्रियासमेत अगाडि बढाएको छ ।

दुई वटा वाइडबडी विमान काठमाडौं अवतरण गरेसँगै ती गन्तव्यमा उडान थप्ने निगमको व्यापारिक योजना छ । निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले भने, ‘नयाँ विमान आउनासाथ जापान, कोरिया र साउदी अरेबियामा सातामा ३/३ उडान गर्ने योजना बनेको छ ।

यात्रुको चाप हेरेर उडान थप्न सकिने उनको भनाइ छ ।

केही समयपछि अस्ट्रेलियामा पनि उडान थाल्ने योजना निगमको छ । तर, अस्ट्रेलिया र नेपाल सरकारबीच हवाई सेवा सम्झौता नभएकाले प्रक्रिया रोकिएको छ ।

सम्झौता भएका देशहरुसँग मात्र अपरेसन परमिट माग्न मिल्छ । ३८ वटा राष्ट्रसँग मात्र नेपालको हवाई सेवा सम्झौता भएको छ ।

श्रेष्ठका अनुसार आगामी असारसम्ममा दुवै वाइडबडी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसक्ने छन् । एक साताको फरकमा दुवै विमान ल्याइसक्ने तालिका तय भएको छ ।

अमेरिकी कम्पनी एएआरले निगमलाई एयरबसबाट उत्पादित विमान उपलब्ध गराउन लागेको हो ।अस्ट्रेलियासँग हवाई सेवा सम्झौता नहुँदा रोकियो ‘अपरेसन परमिट’को प्रक्रिया

दुवैको मूल्य दुई सय नौ दशमलव ६ मिलियन अमेरिकी डलर अर्थात् २१ अर्ब ९० करोड रुपैयाँ परेको छ । हालसम्म १० अर्ब रुपैयाँ निगमले पठाइसकेको छ । ११ अर्ब ९० करोड रुपैयाँ विमान डेलिभरी हुने केही दिनअघि मात्र पठाउने निगमको तयारी छ ।