शुक्रबार, बैशाख ०७, २०८१

रानीपोखरी प्रताप मल्लकै पालाको शैली र प्रविधिमा निर्माण गर्न विज्ञको सुझाव

काठमाडौं,७ माघ ।  रानीपोखरीको पुननिर्माणमा देखिएको विवाद सुल्झाउने गरी गठन भएको विज्ञ समितिले रानीपोखरीको पुनर्निर्माण पैसा आर्जन गर्ने उद्देश्यका साथ नगर्न सिफारिस गरेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई बुझाइएको प्रतिवेदनमा रानीपोखरी प्रताप मल्लकै पालाको जस्तौ शैली र प्रविधिमा निर्माण गर्न सुझाव दिइएको छ ।

मेयर शाक्यले रानीपोखरीमा पार्क बनाउने र त्यहाँ वरपर कफी सप खोल्ने योजना ल्याएका थिए । तर, विज्ञ समूहले रानीपोखरीलाई व्यवसायीकरण नगर्न सिफारिस गरेको छ ।

विज्ञ समितिका संयोजक तथा पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीकाअनुसार प्रतिवेदनले जंगबहादुरको पालामा पुनर्निर्माण गर्दा प्रयोग गरिएका शैली र प्रविधि पनि प्रयोग नगर्न सिफारिस गरेको छ ।

रानीपोखरीको पुननिर्माणका क्रममा महानगरपालिकाले पानी रोक्न भन्दै क्रंकिट प्रयोग गरेपछि त्यसको तीव्र बिरोध भएको थियो । त्यसलाई सुल्झाउन गठन भएको विज्ञ समूहले आफ्नो प्रतिवेदनमा कंक्रिटको प्रयोग गर्दै नगर्न सुझाव दिएको छ । बरु यसअघि प्रयोग भएका गल्तीलाई सच्याएर पुरानै स्वरुप र शैलीमा निर्माण गर्न सिफारिस गरेको छ । |

प्रतिवेदन बुझ्दै मेयर शाक्यले प्रतिवेदनको सिफारिसलाई पुरातत्व विभाग र पुनर्निर्माण प्राधिकरणसँग बसेर कसरी लागू गर्ने भन्ने निर्णय लिने बताए ।