काठमाडौं,६ माघ । सीमा स्तम्भ मर्मतका क्रममा नेपालको लगभग ५० बिगाहा जमिन भारतमा परेको सार्वजनिक भएलगत्तै नापी विभागको एक टोली वीरगञ्ज पुगेको छ ।
नापी विभागका निर्देशक अनिल मरासिनी नेतृत्वको टोली मिचिएको सीमाको सत्य–तथ्य बुझ्न वीरगञ्ज आइपुगेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले प्राविधिक रुपमा नक्सांकन मिले/नमिलेको अध्ययन गर्नकै लागि नापी विभागका निर्देशकसहितको टोली वीरगञ्ज आइपुगेको जानकारी दिए । सीमा मिचिएको निवेदन पाएपछि तुरुन्त काम रोक्न निर्देशन दिएकै हो, तथ्य क्लिएर भएपछि मात्रै काम अघि बढ्छ’ प्रजिअ सिंहले भने, ‘एकधुर जमिन पनि तलमाथि नहोस् भन्नेमा हामी सचेत छौं ।
नेपाल-भारत सीमा सर्वेक्षण टोलीका लिडर एवं प्रमुख नापी अधिकृत रमेश ज्ञवाली प्राविधिक कुराहरु नबुझेकै कारण पिलर निर्माणको क्रममा समस्या देखिएको बताउँछन् । उनले नयाँ सीमा स्तम्भ गाड्ने क्रममा यस्ता समस्याहरु यसअघि पनि आएको बताए ।
सीमा स्तम्भ मर्मत र निर्माणको काम हामीले यसअघि देखि नै गर्दै आएका हौं, भुषण देव राय र वलिव मियाँको १०७/१०७ वर्ग मिटर जमिन भारततर्फ पर्न गएको छ ’, उनले भने ‘ स्थानीयको दावी अनुसार आवश्यक कागजपत्र छ वा छैन हामी जाँच गर्छौ, त्यसपछि फारम भरेर तथ्यांक संकलन गरेर सर्भे डिपार्टमेन्टमा पठाउँछौं ।
उनले त्यस्ता जग्गा धनीका लागि राज्यले के गर्छ भन्ने बारेमा भने अनविज्ञता व्यक्त गरे । ‘ हामी त फारम भरेर विभागमा पठाउँछौं, विभागले परराष्ट्रमा पठाउँछ होला, त्यतिकै त लगत लिँदैन मुआब्जा दिने हो वा अरु केही व्यवस्था हुन्छ होला । प्राविधिक कुरा मात्रै मेरो अधिकार क्षेत्र भित्र पर्छ ।’
नेपाल र भारतबीच उच्च स्तरीय सहमतिबाट सीमा क्षेत्रमा हराएका र क्षतिग्रस्त पिल्लर निर्माण र मर्मतको क्रम चलिरहेको छ । नेपालतर्फ सर्वे विभागको टोलीले काम गरिरहेको छ भने भारतमा एसएसबीले निर्माणको जिम्मा पाएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयाँ क्षेत्रमा मात्रै १२ जना भन्दा बढीको नम्बरीसहित झण्डै ५० विगाहा जमिन मिचिएको स्थानीयको दावी छ ।
