काठमाडौं,६ माघ । सामान्य प्रशासन मन्त्रालयले प्रदेश प्रमुखको कार्यालयमा जति सक्दो चाँडो कर्मचारी पठाई तयारी गरेको छ ।
प्रदेश प्रमुखको कार्यालय सञ्चालनका बढीमा आइतबारसम्म कर्मचारी पठाउने तयारी गरिएको प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए । ‘‘हामीले प्रदेश प्रमुख नियुक्त हुनासाथ कर्मचारी खटाउने विषयमा आवश्यक गृहकार्य गरेका थियौँ’ उनले भने, ‘अब जति सक्दो चाँडो एक दुई दिनभित्र कर्मचारीलाई सम्बन्धित प्रदेश प्रमुखको कार्यालयमा खटाउछौँ ।’
अहिले खटाउने कर्मचारी, कर्मचारी समायोजन नहुँदासम्मका लागि अस्थायी रुपमा मात्र हुने मन्त्रालयले बताएको छ ।
एउटा प्रदेशमा सहसचिवको नेतृत्वमा २५ जनाको दरले १७५ जना कर्मचारी जानेछन् । प्रदेश प्रमुखको सचिवालयमा १२ र कार्यालय सञ्चालन गर्नका लागि १३ कर्मचारी पठाउन थालिएको छ । शुक्रबार राष्ट्रपतिसँग शपथ लिएका प्रदेश प्रमुखले अब सरकारले तोकेको अस्थायी मुकाममा गएर प्रदेश सञ्चालन गर्नेछन् ।
