सोमबार, बैशाख २१, २०८३

वाम गठवन्धन : राष्ट्रिय र प्रदेश सरकार गठनको आधार तयार

काठमाडौं,२९ पुस । वाम गठवन्धन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको कार्यदलले सिट बाँडफाँटका मुख्य चार आधार तय गरेको छ ।
राष्ट्रियसभा र प्रदेश सरकार गठनको गृहकार्य गर्न गठित एमाले र माओवादी केन्द्रको कार्यदलले सिट बाँडफाँटका मुख्य चार आधार शुक्रवार संयूक्त बैठकले तय गरेको हो ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सुवास नेम्वाङको अध्यक्षतामा बसेको बैठकले साझा उम्मेदवार तय गर्न प्रारम्भिक छलफल थालेको थियो । राष्ट्रियसभाको सिट बाँडफाँट र प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रदेश संसदका सभामुख पद कसरी बाँड्ने भन्ने आधार तय भएको छ ।
एमाले र माओवादीका तीन तीन जना नेता रहेको यो कार्यदललाई राष्ट्रियसभा र प्रदेश सरकारको सिट बाँडफाँडका लागि जिम्मेवारी दिइएको छ ।
कार्यदलको संयोजन गरिरहेका एमाले नेता सुवास नेम्वाङका अनुसार सिट बाँडफाँडमा प्रदेशगत रुपमा पार्टीको शक्ति, पार्टी एकताको भावना, सम्बन्धित पदको लागि व्यक्तिको योग्यता र सन्तुलनलाई मुख्य आधार बनाइएको छ । राष्टियसभा निर्वाचनको उम्मेदवार दर्ता माघ १०मा रहेका त्यस अघि नै सिट बाँडफाँट टुंगो लगाउने नेम्वाङले बताए ।
राष्ट्रियसभाका ५६ सिटमा वामपन्थी गठबन्धनले साझा उम्मेदवार उठाउनेछ । स्रोतका अनुसार राष्ट्रियसभामा समग्रमा ६०र४० अनुपातमा सिट बाँडफाँट हुने सम्भावना छ ।
सोहि कार्यदलले नै भावी प्रदेश सरकारका मुख्यमन्त्री, सभामुखसहित प्रदेश संरचनाबारे पार्टी एकता संयोजन समितिलाई सुझाव दिने जिम्मेवारी पाएको छ ।
मुख्यमन्त्री, सभामुख बाँडफाँटमा पनि चारवटा आधारलाई मुख्य मानिने एमाले नेता नेम्वाङले बताए । ‘एउटै पार्टी भएपछि कसले कति पाउने भन्ने रहेन, कुन प्रदेशमा मुख्यमन्त्री र सभामुख बन्न कस्तो व्यक्ति उपयुक्त छ,व्यक्ति हेरेर पनि बाँडफाँड हुन्छ’ उनले भने, यसले यति पाउने भन्ने मात्र आधार छैन ।

स्रोतका अनुसार ६ वटा प्रदेशका मुख्यमन्त्रीमध्ये चारवटा एमालेले र दुईवटा माओवादीले पाउने सम्भावना छ । प्रदेशका सभामुखको बाँडफाँट पनि सोही अनुसार हुनेछ ।
मुख्यमन्त्री बाँडफाँड गर्दा सम्बन्धित प्रदेशको जातीय सन्तुलनलाई पनि ध्यान दिइनेछ । समावेशीता र सन्तुलनलाई ध्यान दिँदै प्रदेश १ बाट राई,लिम्बु, प्रदेश ३ मा नेवार,तामाङ, ४ मा गुरुङ उम्मेदवारलाई प्राथमिकता दिने गरी सिट बाँडफाँट हुनेछ । प्रदेश १ मा शेरधन राई, ३ मा अष्टलक्ष्मी शाक्य र ४ मा पृथ्वीसुब्बा गुरुङ वा किरण गुरुङमध्ये एक मुख्यमन्त्रीका सम्भावित उम्मेदवार हुन् । प्रदेश ५ मा शंकर पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति चुनाव अघि नै भइसकेको छ ।
प्रदेश ६ मा खसआर्य समुदायकै मुख्यमन्त्री हुनेछन् । माओवादीले पाउने सम्भावना रहेको मुख्यमन्त्रीका लागि महेन्द्रवहादुर शाही र नरेश भण्डारी मुख्य दाबेदार हुन् । यद्यपी ६ नम्बर प्रदेशमा एमालेको बहुमत रहेको भन्दै एमालेले पनि दाबी गरेको छ । एमालेबाट मुख्यमन्त्रीमा प्रकाश ज्वाला र यमलाल कँडेल दाबेदार छन् ।

प्रदेश ७ मा पनि माओवादीले मुख्यमन्त्री पाउने सम्भावना छ । यहाँ थारु समुदायका वीरमान चौधरी र माओवादीकै झपट बोहोराले मुख्यमन्त्रीमा दाबी गरेका छन् । ७ मध्ये ६ वटा प्रदेशमा वामपन्थीको बहुमत छ ।