सोमबार, बैशाख २१, २०८३

डा.केसी समर्थक अधिवक्ता अर्याल भने अबको लडाई ओलीविरुद्ध

काठमाडौं,२८ पुस । आमरण अनसनरत डा.गोविन्द केसी समर्थनको आक्रोस एमाले अध्यक्ष केपी ओलीतिर सोझिएको छ । ओलीले डा. केसी र उनको आन्दोलनलाई खिसिटिउरी मात्र गरेको भन्दै अभियान्ताहरुले आक्रोश पोखेका छन् ।

बिहीबार माइतीघर मण्डलामा डा. केसीको समर्थनमा भएको प्रदर्शनमा सहभागीहरुले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा मात्र मागेनन्, ओलीको आलोचना पनि गरे । अधिवक्ता ओमप्रकाश अर्यालले अबको नैतिक लडाई केपी ओलीविरुद्ध हुने बताएका छन् ।

डा. केसीबारे एमाले अध्यक्ष ओलीका पछिल्ला अभिव्यक्तिहरुलाई आफूहरुले नजिकबाट हेरिरहेको भन्दै उनले भने, ‘डा. केसीको सत्याग्रहले ल्याएका उपलब्धीलाई खिसिटिउरी गर्ने ? जोक बनाएर उडाउने ? अब नैतिकको लडाइँ ओलीविरुद्ध हुन्छ ।’

२०२८ सालको झापा काण्डमा ओलीको संलग्नता रहेको भन्दै उनले भने, ‘यसरी हत्या गर्नु भनेको नैतिक पतन हुने अपराध गर्नु हो, यो अदालतले पनि ठहर गरेको छ ।

प्रदर्शनलाई सम्बोधन गर्दै डा. केसीका सहयोगी डा. अभिषेक राज सिंहले ओलीलाई माफियाको घेरा बाहिर आएर बहस गर्न चुनौती दिए । उनले अघि भने, तपाईले अति गर्नुभयो अब दिनगन्ती सुरु भयो ।