शुक्रबार, चैत १६, २०८०

राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं,२७ पुस । सरकारले माघ २४ गते राष्ट्रियसभाको निर्वाचन गर्ने तय गरेपछि निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगले वुधवार कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख एवं प्रदेशसभा सदस्य मतदाता हुनेछन् । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १५०६ जना तथा प्रदेशसभाका ५५० सदस्य गरी कुल २,०५६ जना मतदाता छन् ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ तोकिएको छ । स्थानीय तहका प्रमुखरउपप्रमुख र प्रदेशसभा सदस्यको मतबाट राष्ट्रियसभाका ५६ सदस्य निर्वाचित हुनेछन् । प्रत्येक प्रदेशबाट महिला र खुलाबाट ३र३ जना, दलित र अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट १र१ जना गरी ८ जना चुनिनेछन् । निर्वाचन आयोगले सात स्थानमा मतदान स्थल बनाउनेछ । उच्च अदालतको मुख्यालय जहाँ छ, त्यही मतदान केन्द्र रहने प्रवक्ता नवराज ढकालले जानकारी दिए । आयोगले उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा पुस २९ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय पनि गरेको छ ।

आयोगका अनुसार मतदान केन्द्रहरुमा माघ ७ गते मतदाता नामावली प्रकाशन गरिनेछ । त्यस्तै १० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ भने १५ गते उम्मेदवारहरुलाई निर्वाचन चिहृन प्रदान गरिनेछ ।

प्रत्येक प्रदेशमा माघ २४ गते बिहान १० बजेदेखि अपराहृन ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।