सोमबार, बैशाख २१, २०८३

पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रका प्रतिलिपि झिकाउन सर्वोच्चको आदेश

काठमाडौं,२६ पुस । प्रधानन्यायाधीश गोपाल पराजुलीका दुबै नागरिकता र शैक्षिक प्रमाणपत्रका प्रतिलिपिहरु झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

अदालतको अवहेलना मुद्दा लागेका डा. गोविन्द केसीले वयानका क्रममा पराजुलीको दुईवटा नागरिकता रहेका र एसएलसी पास भए/नभएको शंका भएको बताएका थिए । डा. केसीले इजलासमा उपस्थित भएर पनि त्यही अडान राखे ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले बुधबार प्रधानन्यायाधीश पराजुलीका नाममा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएका दुबै नागरिकताको प्रतिलिपि र न्याय परिषदबाट उमेरबारे भएको निर्णय एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरु झिकाउन आदेश दिएको हो ।

साथै प्रधानन्यायाधीश पराजुलीसहितको इजलासले आईओएमको डीनमा डा. शशी शर्मालाई पुनर्वहाली गर्न दिएको आदेशको मिासिल पनि झिकाउन सर्वोच्चको आदेशमा उल्लेख छ ।

प्रधानन्यायाधीश बन्नुअघि नै पराजुली नागरिकतामा उमेर सच्याएको विवादमा परेका थिए । उनको पहिलो नागरिकता र ३४ वर्षपछि लिएको प्रतिलिपिमा जन्ममिति फरक परेको विवाद यसअघि नै बाहिर आएको थियो ।

प्रधानन्ययाधीश पराजुलीले ०४८ सालमा न्याय सेवामा प्रवेश गर्दा पेश गरेको नागरिकतामा जन्म मिति २१ साउन २००९ छ । तर, २५ माघ २०३४ मा जिल्ला प्रशासन कार्यालयबाट निकालेको नागरिकताको प्रतिलिपिमा भने जन्म मिति १६ वैशाख २०१० उल्लेख छ ।