शुक्रबार, बैशाख १४, २०८१

डा.केसीलाई अदालत उपस्थित,रिहाईको माग गर्दै प्रदर्शन

काठमाडौं,२५ पुस । अनसनस्थलबाटै अदालतको अपहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । उनलाई मंगलबार बिहान ९ बजेपछि अदालतमा उपस्थित गराइएको हो ।

डा. केसीले अदालतको अवहेलना गरेको आरोपमा सर्वोच्चले सोमबार पक्राउ पूर्जी जारी गर्दै अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

अदालतको आदेशलगत्तै डा. केसीलाई अनसनस्थलबाटै सोमबार साँझ प्रहरीले पक्राउ गरेको थियो । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)का डीन नियुक्ति प्रकरणमा अदालतको फैसलाविरुद्ध डा. केसीले दिएको अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै सर्वोच्चमा सोमबार रिट दायर भएको थियो ।

डा. केसीको समर्थनमा माइतीघरमा प्रदर्शन सुरु

अदालतको मानहानी गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा मंगलबार बिहानैदेखि प्रदर्शन सुरु भएको छ ।

डा. केसीका समर्थकहरुले उनको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै मंगलबार बिहानैदेखि प्रदर्शन गरेका हुन् ।

सर्वोच्चको आदेशबाट सोमबार राति डा. केसीलाई पक्राउ गरिएपछि यसको चौतर्फी आलोचना भइरहेको छ । यहीबीच उनका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा राजनीतिक दलका नेतादेखि विभिन्न पेसाकर्मी सहभागी छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वस्वास्थ्यमन्त्री गगन थापाले समेत प्रदर्शनकारीहरुलाई आफ्नो साथ रहेको घोषणा गरेका छन् ।

माइतीघरको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्र लगायत अग्रपंक्तिमा देखिएका छन् ।  त्यसैगरी कलाकारहरु अमृत गुरुङ, गिरिश खतिवडा, निर्मल शर्मालगायत कलाकारसमेत केसीको समर्थन गर्न माइतीघरमा भेला भएका छन् ।