सोमबार, बैशाख २१, २०८३

ओली-प्रचण्ड भेटवार्ता पार्टी एकताबारे मंगलबार कार्यदल बैठक

काठमाडौं,२४ पुस । नेकपा एमाले अध्यक्ष केपि शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीचको उच्चस्तरीय भेटवार्ता भएको छ ।

पार्टी एकताका लागि वैचारिक- राजनीतिक र सांगठानिक सहमति खोज्न संयुक्त कार्यदल बनाउन सहमत भएका छन् ।  कार्यदल मंगलबार बस्ने एकता संयोजन समितिको बैठकले बनाउने छ ।

आइतबार साँझ बालकोटमा भएको प्रचण्ड र ओलीवीचको उच्चस्तरीय भेटवार्तापछि मंगलबार एकता संयोजन समितिको बैठक बोलाउने समहमति भएको हो ।

भेटबारे जानकारी दिँदै माओवादी अध्यक्ष प्रचण्डले भने- मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने र समितिबाट पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउनका लागि वैचारिक राजनीतिक काम र सांगठानिक काम गर्न एउटा टीम बनाएर जिम्मा दिने र केही दिनभित्र यो प्रक्रियालाई निश्कर्षमा पुर्‍याउने भन्ने भएको छ । एकता संयोजन समितिको बैठक बस्नुपूर्व सोमबार एमाले र माओवादी केन्द्रले आ-आफ्नो पार्टीको बैठक गर्ने भएका छन् । एकता संयोजन समितिको बैठकको तयारीका लागि सोमबार आ-आफ्नो पार्टीको लेबलमा छलफल गर्ने सहमति भएको प्रचण्डले जानकारी दिए ।

केपी ओलीसँगको भेटमा मुख्यरुपमा पार्टी एकताकै विषयमा छलफल भएको बताउँदै प्रचण्डले भने, ‘हामी जुन प्रक्रियामा अघि बढेका छौं, त्यसलाई निश्कर्षमा पुर्‍याउनैपर्छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि दुई दलवीच एकता संयोजन समितिको बैठक बस्न सकिरहेको थिएन । यसवीचमा पार्टी एकतामाथि नै प्रश्न र शंकाहरु उब्जिइरहेका बेला आइतबार ओली र प्रचण्डवीच भेट भएको हो । यसवीचमा एमालेले भन्दै आएको ‘बहुदलीय जनवाद’ र माओवादीले भन्दै आएको ‘माओवाद’ का बारेमा के हुने भन्ने बहस पनि चलेको छ ।

एकता संयोजन समितिको बैठकपछि बन्ने टीमले यी वैचारिक एवं सांगठनिक प्रश्नको समाधान गर्ने प्रचण्डले जानकारी दिएका छन् ।