सोमबार, बैशाख २१, २०८३

तराईमा अत्याधिक चिसोको कारण जनजीवन प्रभावित

काठमाडौं,२३ पुस । तराईमा चिसो अत्याधिक बढेको छ । पर्सा, बारा,रौतहटको जनजीवन चिसो कारण प्रभावित बनेको छ ।

वीरगञ्ज, कलैया, गौर लगायतका मुख्य बजारमा सर्वसाधरणको चहलपहल कम भएको छ । तीनवटै जिल्लाका विद्यालयहरु चार दिनका लागि बन्द गरिएका छन् ।

पछिल्लो साता यस क्षेत्रमा यस वर्षकै सबैभन्दा बढी चिसो महशुस गरिएको सर्वसाधरणले बताएका छन् । पर्साको पकाहामैनपुर गाउँपालिका वडा नं ३ मैनपुर घर भएका ७० वर्षीय विन्दाप्रसाद पटेलले एक सातादेखि निकै चिसो महशुस भएको बताए । ‘दिनभर घुर तापेर बस्छौं, बेलुका ७/८ बजे नै ओछ्यानतिर पस्छौं,’ पटेलले भने,’चिसोका कारण दिनचर्या बदलिएको छ ।’ चिया पसलहरुमा मानिसहरुको भिड बढेको छ ।

चिसोले गर्दा मानिसहरु बिरामी परिरहेका छन् । विशेष गरी कोल्ड डायरिया, दम खोकीले मानिसहरुलाई सताएको चिकित्सकहरु बताउँछन् ।

शीतलहर र अत्यधिक चिसो बढेका कारण बालबालिकामा रुघाखोकी, निमोनिया, कोल्ड डायरिया, टाउको दुख्ने लगायतका समस्या देखिएको आशाराम अस्पतालका बरिष्ठ बालरोग विशेषज्ञ डा. अशोक दासले बताए । ‘केही दिन यता कोल्ड डायरियाको बिरामी बढेका छन् । अस्पतालमा आउने बिरामी मध्ये आधा भन्दा बढी चिसोकै विरामी हुन्छन् ।’ उनले भने ‘ चिसोमा बाल बच्चालाई विशेष ध्यान दिनुपर्छ भन्ने कुरामा अभिभावक सचेत नभएकोले समस्या उत्पन्न हुने गरेको छ । चिसोले गर्दा बालबालिकासँगै वृद्धवृद्धा, रिक्सा-ठेला चालक र दैनिक ज्यालादारीमा घर बाहिर काम गर्ने मजदुरहरू प्रताडित छन् ।

शनिबार र आइतबार यसवर्षकै सबैभन्दा कम तापमापन भएको वीरगञ्ज रानीघाटस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरस्थित अटोमेटिक वेदर स्टेशनका अवजर्भर कामेश्वर राउतले बताए ।

आइतबार बिहान न्युनतम तापक्रम ७.५ डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम १० डिग्री सेल्सियस मात्रै छ ।