सोमबार, बैशाख २१, २०८३

तराईका बाढीप्रभावितले पाँच महिना बित्दासमेत राहत पाएनन

काठमाडौं,२३,पुस । तराईमा आएको बाढीका प्रभावितले पाँच महिना बितिसक्दासमेत तत्कालीन राहतसम्म पाएका छैनन् । गत साउन अन्तिम साता तराईमा आएको बाढीपीडित परिवारलाई तत्कालीन राहतस्वरुप २५ हजार रुपैयाँ उपलब्ध गराउने सरकारी निर्णय थियो । तर, उनीहरुको हातमा उक्त रकम परेको छैन ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार बजेट निकासा भइनसकेकाले वितरण गर्न नसकिएको हो ‘आवश्यक रकमको आकलन गरेर प्रस्ताव अर्थ मन्त्रालयमा पेश गरेका छौं,’ प्राधिकरणका प्रवक्ता यमलाल भुसालले अनलाइनखबरसँग भने । अर्थबाट आवश्यक रकम निकासा भएपछि वितरण थालिने उनको भनाइ छ । गत कात्तिक अन्तिम साता मात्र मन्त्रिपरिषद्ले राहत प्याकेजसम्बन्धि निर्णय गरेको थियो ।

१२ मंसिरमा प्राधिकरणले बाढी प्रभावितलाई प्रतिपरिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने बताएको थियो, जसमा १५ हजार रुपैयाँ नगद र न्यानो कपडाका लागि १० हजार रुपैयाँ दिने निर्णय थियो ।

सरकारले चुनावलगत्तै रकम दिने बताएको थियो । सबै चरणका चुनाव सकिएको पनि एक महिना बितिसकेको छ । योजना आयोगले तयार गरेको बाढीपछिको पुनःस्थापना आकलन प्रतिवेदनअनुसार बाढी तथा डुबानका कारण ४१ हजार ६ सय २६ परिवार विस्थापित भएका छन् । तिनै पीडित यस्तो राहतका लाभग्राही हुन् । क्षतिको पुनःस्थापनाका लागि ७३ अर्ब २२ करोड ४८ लाख रुपैयाँ आवश्यक पर्ने आकलन आयोगको छ ।

प्रतिवेदनअनुसार बाढीबाट आवास, स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, सिँचाइ, यातायात, पानी तथा सरसफाइ र ऊर्जा क्षेत्रमा ६१ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । १८ जिल्लामा एक सय ३४ को मृत्यु भएको थियो ।