शुक्रबार, चैत १६, २०८०

कोरियावाट बिचैमा काम छाडेर फर्किए पुन: जान नपाउने

काठमाडौं,२२ पुस । दक्षिण कोरियामा जाने नेपाली कामदारका लागि नयाँ नियम लागू भएको छ । दोस्रोपटक वर्किङ भिसाको अवधि पुरा नगरी बीचैमा काम छाडेर फर्किने कामदारलाई तेस्रोपटक कोरिया जान नदिने नियम कोरिया सरकारले ल्याएको हो ।

यसले आफ्नो कार्यकाल पुरा नगरी वर्क पर्मिट क्यान्सिल गरेर आउने कामदार मर्कामा पर्नेछन् ।

कामदारले बीचमै कोरिया छाडेर आउने क्रम बढेपछि कोरियन सरकारले यस्तो निर्णय गरेको हो । दोस्रो कार्यकाल पुरा नगरी फर्किने कामदारले फेरि जान नपाउने ईपीएस कोरिया शाखाका अधिकृत शोभाकर परजुलीले जानकारी दिए । ‘अब सीभीटी परीक्षा दिएर कोरिया गएकाले बीचमै भिसा क्यान्सिल गरेर आएमा फेरि भाषा परीक्षा दिन पाउँदैनन्,’ उनले भने, ‘विदामा आउनेको हकमा यो नियम छैन । तर, जागिर नै छाडेर फर्किनेलाई कोरियाले अर्को मौका दिँदैनन ।’

कोरियामा पहिलो पटक भाषा परीक्षा पास गरेर गएकाले ४ वर्ष १० महिना काम गर्न पाउँछन् । दास्रोपटक कम्प्युटरमा आधारित भाषा परीक्षा दिएर अर्को ४ वर्ष १० महिनाको लागि जान पाइन्छ ।

तर, दोस्रोपटक जानेहरु बीचमै विभिन्न कारण देखाउँदै काम छाडेर फर्किने र फेरि भाषा परीक्षा दिएर कोरिया फर्किने गरेको पाइएपछि रोक लगाइएको बुझिएको छ ।