बिहिबार, बैशाख १३, २०८१

पार्टीले राष्ट्रपतिको जिम्मेवारी दिए आफू तयार : खनाल

काठमाडौं,२१ पुस । नेकपा एमालेका वरिष्ठ नेता पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीले राष्ट्रपतिको जिम्मेवारी दिए आफू तयार रहेको बताएका छन् । तर, राष्ट्रपति बनाइदेउ भनेर लबिङ गर्दै नहिड्ने बताए ।

पिता पुंगनाथ खनालको शतवाषिर्कीमा आयोजित वृक्षरोपण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खनालले पद प्राप्त गर्नका लागि लबिङ्मा नलाग्ने बताए । उनले भने- ‘तर म मलाई राष्ट्रपति बनाइदिनु पर्‍यो भन्ने लबिङ गर्ने पक्षमा छैन ।’

मुलुकको आवश्यकता अनुसार जिम्मेवारी लिन भने पछि नहट्ने खनालले बताए ।

वाम गठबन्धन जनअनुमोदित भइसकेको भन्दै खनालले एमाले र माओवादीको एकतालाई कसैले रोक्न नसक्ने बताए ।

पार्टी नै एकिकरण हुने भएकाले को प्रधानमन्त्री ? को पार्टी अध्यक्ष भन्ने गौण भएको बताए । यो बहस पार्टी नबुझेका बाहिरियाहरुको मात्र हल्ला भएको भन्दै उनले भने, ‘जब पार्टी नै एक हुँदैछ भने कुन पार्टीको अध्यक्ष, प्रधानमन्त्री भन्ने कुराको कुनै अर्थ छैन । उपयुक्त पदमा उपयुक्त व्यक्तिलाई जिम्मेवारी दिन्छौं । केही शक्ति र दलहरुले वाम गठबन्धनलाई अफल बनाउन लागेको तर, सफल नहुने उनले बताए ।

पिताको शतबाषिर्कीको अवसरमा खनालले आफ्नो स्वामित्वको जग्गा र नजिकैको पोलिटेक्निकल इन्टिच्युटमा ‘जिंको बाइलोबा’ नामक रुख रोपेर श्रद्धाञ्जली अपर्ण गरेका छन् ।