सोमबार, बैशाख २१, २०८३

तराईका जिल्लामा शीतलहरले जनजीवन कष्टकर बन्दै

काठमाडौं,२० पुस ।  पश्चिम तराईका जिल्लामा पाँच दिनदेखिको शीतलहरले जनजीवन कष्टकर बन्न थालेको छ । कुहिरोले आकाश ढाकिने गरेको छ भने नेपालगञ्जबाट हुने हवाई उडान अनियमित हुन थालेका छन् । बिहान कुहिरो र शीतलहरले नजिकै देख्न समस्या भएपछि सवारी चालकहरू हेडलाइट बालेर गाडी चलाउन बाध्य भएका छन् ।

नेपालगञ्जस्थित हावापानी फिल्ड कार्यालयकी प्रमुख रिता महतोले नेपालगञ्जको तापक्रम ४ डिग्री सेल्सियसभन्दा कममा झरेको बताएकी छन् । राति पनि शीतलहर चलेका कारण चिसो बढी हुने गरेकाले यस क्षेत्रका बालबालिका र वृद्धाहरू बढी मारमा परेका छन् । दिनभरि घाम नलाग्नुका साथै शीतलहरका कारण पछिल्लो ५ दिनदेखि अत्याधिक चिसो बढेको हो । चिसो १ साता अगाडिदेखि नै बढे पनि शनिबार घाम लागेर केही राहत महसुस गरेका नेपालगञ्ज, गुलरिया लगायतका पश्चिम नेपालमा बासिन्दाहरू फेरि आइतबारदेखि नै घाम देख्न पाएका छैनन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेले चिसो बढेपछि स्थानीय तहलाई आवश्यक व्यवस्थापनका लागि अनुरोधसमेत गरेको छ । प्रशासनले न्यानो कपडा, कम्बल वितरण तथा चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाउन स्थानीय तहलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाका ८ वटै स्थानीय तहलाई पत्र पठाएर चिसोबाट प्रभावितहरूलाई जोगाउन स्थानीय तहमै उपाय अवलम्बन गर्ने अनुरोध गरेपछि स्थानीय तहहरूले सोहीअनुसार दाउराको व्यवस्था गरी स्थानीय नागरिकहरूलाई वितरण गरिरहेका छन् ।

शीतलहरका कारण वृद्ध र बालबालिका का साथै ठेला रिक्सा चालक तथा मजदुरहरू सबैभन्दा बढी प्रभावित भएका छन् । बालबालिका तथा ज्येष्ठ नागरिक पनि चिसोका कारण प्रभावित भएका छन् । घाम नलागेका कारण दिउँसै अँध्यारो जस्तो भएपछि बाँकेका विद्यालयहरू भने बन्द भएका छैनन् ।

‘नर्सरी, एलकेजीमा पढ्ने बालबालिका अति प्रभावित छन,’ नेपालगञ्जका शिवप्रसाद पाठकले भने । चिसो बढेपछि रुघाखोकी, ज्वरोलगायत समस्याले पीडित हुनेको संख्या पनि बढेको छ । बालबालिका र वृद्धवृद्धामा चिसोका कारण स्वास्थ्य समस्या बढी देखिएको छ । जाडो बढ्दै गएपछि विद्यालयमा विद्यार्थीको उपस्थिति पनि कम देखिन थालेको छ । विपन्न बस्तीहरूमा न्याना लुगा अभाव रहेकाले जाडो छल्न मुस्किल भइरहेको नेपालगञ्ज–५ त्रिपाठीले बताए ।

शीतलहरका कारण नेपालगञ्ज बिमानस्थलबाट हुने हवाई उडान पनि प्रभावित भएको छ । राँझा बिमानस्थलका अनुसार चार दिनदेखि विहानका हवाई उडानहरू प्रभावित भएका छन् । हवाई उडान हुन कम्तीमा २ हजार भिजिबिलिटी आवश्यक पर्छ तर शीतलहर र कुहिरोले आकाश ढाक्दा बिहानका हवाई उडानहरू प्रभावित हुने गरेको नेपालगञ्जस्थित नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ । नेपालगञ्जबाट काठमाडौं र कर्णालीका लागि दैनिक दर्जनभन्दा बढी उडान हुने गरेका छन् ।

‘शीतलहरका कारण तापक्रम घटेपछि चिसो निकै बढी महसुस भएको हो । दिउँसो केहीबेर आकाश खुल्ने गरेकाले त्यतिवेला तापक्रम बढ्छ,’ हावापानी फिल्ड कार्यालयकी प्रमुख महतोले भनिन् । शीतलहरका कारण बिहानको समयमा नेपालगञ्ज लगायत स्थानीय बजारहरूमा चहलपहल कम हुन थालेको छ ।

सर्वसाधारण आगो तापेर चिसो छल्ने प्रयास गरिरहेका देखिन्छन् । दुई वर्षयता पश्चिम तराईमा मंसिरको अन्तिम सातादेखि शीतलहर चल्न थालेको छ ।